Logo

माधुरीकै अनुरोधमा सञ्जय दत्तको जीवनबाट माधुरीलाई आउट गरियो

सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘सञ्जु’ मा माधुरी दीक्षितको सबै दृश्य हटाइएको छ । सञ्जय दत्तको बायोपिक सञ्जुबाट माधुरी दीक्षितकै अनुरोधमा उनी सम्बन्धीत सबै दृश्यहरु हटाइएको हो । सन् १९९० को दशकमा बलिउड धकधक गर्ल माधुरी दीक्षित र सञ्जय दत्तको प्रेम कहानीलाई लिएर मिडियामा हेडलाईनहरु बन्ने गर्थे । उनीहरुको प्रेम कहानी बलिउड फिल्म उद्योगमा समेत त्यतिकै चर्चाको विषय बन्ने गर्दथ्यो । तिनै सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ अहिले प्रदर्शनको तयारीमा रहेको छ ।

यसमा दर्शकहरुले माधुरी अनि सञ्जयबीचको प्रेम कहानी हुने अपेक्षा गरिरहेका छन् । तर यस फिल्मको टिजर, ट्रेलर र पहिलो गीत पनि सार्वजनिक भइसकेको छ, जसमा माधुरीसँगको कुरा कहीँ पनि जोडिएको छैन । यस अघिका खबर अनुसार माधुरी दीक्षितसँगको दृश्यको छायाँकन गरिसकिएको थियो । तर, अब ती दृष्यहरु फिल्ममा देखाइने छैनन् ।

माधुरी आफ्नो र सञ्जयबीचको सम्बन्धलाई फिल्ममा समावेश नगरियोस् भन्ने चाहन्थिन् । त्यसैले उनले फिल्मका निर्देशक तथा सञ्जय दत्तसँग यस विषयमा कुरा गरेकी छिन् ।खबरहरुका अनुसार फिल्म ‘सञ्जु’मा माधुरीलाई जोडेर एउटा दृष्य छायाँकंन गरिएको थियो । फिल्ममा माधुरीको भूमिकामा करिश्मा तन्नाले अभिनय गरेकी थिइन् ।

दृष्यमा सञ्जय दत्तलाई गिरफ्तार गरिएको हुन्छ । जेल जानु अघि सञ्जयले माधुरीलाई फोन गर्छन् । तर त्यो फोन माधुरीले नभई उनकी आमाले उठाएर आफ्नी छोरीले उनीसँग कुनैपनि किसिमको सम्बन्ध राख्न नचाहेको कुरा बताउँछिन् । माधुरीले आफुसँग सम्बन्धीत यस कुरालाई फिल्ममा देखाइन लागेको खबर थाहा पाएपछि निर्देशक हिरानीसँग कुरा गरेकी छिन् । माधुरीले त्यो दृश्य फिल्मबाट हटाउन आग्रह गरेपछि फिल्मबाट हटाइएको हो ।

सन् १९९० को दशकमा बलिउडमा हट जोडीको रुपमा चर्चित सञ्जय र माधुरी विवाह गर्नसम्म तयार रहेको कुरा मिडियामा आएको थियो । तर यी दुवैले आफुहरु प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक रुपमा भने कहिल्यै स्वीकार गरेनन् । सञ्जय सन् १९९३ मा जेल चलान भएका थिए । त्यस समयमा जेल जानु अगाडि प्रहरीसँग एक कल फोन गर्न स्वीकृति माग्दै माधुरीलाई फोन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्