Logo

बृद्धहरुको सहारा बनेको भक्तपुर स्थित सहारा हेरचाह केन्द्रमा भेटिइन १०२ बर्षे हजुरआमा [हेर्नुहोस् भिडियो]

जीवनभर द:ख गरेर सन्तानलाई सम्मानजनक र सुखद अवस्थामा पुर्याएका बृद्ध आमाबुबाहरु नै जीवनको उत्तरार्द्धमा एक्लो र सहाराविहिन हुनुपरेको अवस्था बिद्यमान नेपाली समाजमा व्याप्त छ । आजको आधुनिक नेपालि समाजमा परिवारबाट तिरस्कृत भएर असुरक्षित र कष्टकर जीवन बिताइरहेका धेरै आमाबुबाहरु र अशक्तहरु भेटिन थालेका छन।

ज्येष्ठ नागरिकहरु सम्मानित व्यक्तित्व हुन् । उनीहरु ज्ञान, सिप र अनुभवबाट पोख्त हुन्छन। ज्येष्ठ नागरिकहरुलाई उचित हेरचाह, स्याहार, सम्मान गर्नुको साथै सहारा दिनु मानवीय एबम पुनित कार्य हो। उनीहरुको आधारभूत अवश्यकताको पुर्तिदेखी लिएर औषधोपचार र मनोरन्जनको व्यवस्था गर्नु परिवार, समाज र राष्ट्रको कर्तव्य हो । तर अहिलेको प्रतिस्पर्धात्मक युगमा ती सम्पूर्ण सेवा र सुविधाहरु परिवारबाट मिलाउन व्यावहारिक कठिनाई समेत पर्ने गरेको पाइन्छ।

यस्ता विभिन्न समस्या हल गर्न ‘कोहि पनि आमाबुबाले घरपरिवारमा हेरचाह पाउन नसकेर अवहेलित बनेर बस्नु नपरोस’ भन्ने उधेश्यका साथ् भक्तपुरको सृजनानगरमा स्थापना गरिएको ‘साहारा हेरचाह केन्द्र’ मा हाल २७ जना ज्येष्ठ नागरिक तथा अशक्तहरु रहेका छन। ५ जना पुरुष र २२ महिला हरुलाई संथाले हेरचाह गर्दै आइरहेको छ। सम्बन्धित व्यक्तिको परिवारबाट सिमित अनुदान लिएर संस्थाले सामाजिक सेवाको काम बिगत १६ बर्षदेखि निरन्तर रुपमा गर्दै आएको हो।

केन्द्रमा अल्जाइमर, बाथ रोग लगायतका विरामीलाई हेरचाह गरिदै आइएको छ। केन्द्रमा राखिएका व्यक्तिलाई भेट्न आफन्तजन र परिवारका सदस्यहरु समयसमयमा आउने गरेको केन्द्रका सचिव प्रचण्ड करंजितले जानकारी दिनुभयो। ‘शनिवार र बिदाको दिन पारेर धेरै आफन्तजन विभिन्न सामग्री लिएर भेट्न आउनुहुन्छ’, उहाले बताउनुभयो।

केन्द्रमा ३ बर्षदेखि बस्दै आएकी सितापाइलाकि ८४ बर्षीय महालक्ष्मी बानियाँ क्षेत्री केन्द्रमा रहेतापनि आफुले घरपरिवारको जस्तै मायाममता र हेरचाह पाएको बताउछिन। प्यारालाइसिसको बिरामी श्रीमानसंगै केन्द्रमा बस्दै आएकी उनको आफ्नो कोहि पनि सन्तान छैनन्। काम गर्न सकुन्जेल होटेलमा म:म:, बारा लगायतका परिकार बनाउने गरेको उनले बताइन।

काम गर्न सकुन्जेल आफुले धुप बनेर राँचीसम्म बेच्ने गरेको भन्दै उनी आफ्नो हात देखाउदै उनि भन्छिन, ‘धुप बनाउन कागज बटार्दा आफ्नो औला टेढो बन्यो। काम गर्न सकुन्जेल गरे, अहिले सक्दिन। बाथ रोग पनि छ, बाहिर हिड्डुल समेत गर्न सक्दिन।’ ‘आफ्नो सन्तान कोहि पनि छैनन्, जेठाजुको छोराहरुले केन्द्रमा ल्याएर राखिदिए पनि धेरै नै खुशी छु।’ हाँसो गर्दै उनले थपिन, ‘ खान पाएकै छु, लाउन पाएकै छु। अब यहाँ भन्दा बढी के चाहियो र भगवानले लाने बेला भैसक्यो।’

महालक्ष्मी जस्तै केन्द्रमा १०२ बर्षीय नानीमाया देउला समेत बस्दै आएकी छिन। बिदाको समयमा उनलाई भेट्न पनि उनको छोरी र नातिनातिनाहरु आउने गर्छन। पहिले अस्पतालमा बिरामीको स्याहार गर्ने गरेकी उनी अहिले केन्द्रको हेरचाहमा खुशीसाथ जीवन बिताइरहेको बताउछिन। उनी भन्छिन, ‘ यतिका बर्ष त बाचियो अब खुशी भएरै बस्नुपर्यो नि!’

महालक्ष्मी र नानीमाया जस्तै संस्थामा अन्य २५ जना अशक्त र ज्येष्ठ नागरिक छन। केन्द्रले आश्रितहरुको परिवार तथा अन्य सम्बन्धित व्यक्तिहरुसंग भेटघाट गर्न दिने व्यवस्था मिलाएको छ। आश्रितहरुलाई दिनहुँ पत्र-पत्रिका, रेडियो तथा टिभी मार्फत मनोरंजन समेत गरिन्छ। केन्द्रमा फिजियोथेरापी तथा योगको समेत व्यवस्था गरिएको छ।हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्