Logo

जल्नेबित्तिकै के गर्ने ?

कुनै पनि स्वास्थ्य दुर्घटना भएमा उसलाई पहिला प्राथमिक उपचारको जरुरत पर्छ । सही ढंगले प्राथमिक उपचार गर्न सकेमा अन्य मेडिकल उपचारमा पनि निकै सहज हुन्छ । कहिलेकाहीँ प्राथमिक उपचारको अभावमा ज्यानै जाने खतरा पनि हुन्छ । त्यस्तै, मानिसको कुनै अंग जलेपछि प्राथमिक उपचारको जरुरत हुन्छ । कतिपय अवस्थामा मानिसले गलत प्राथमिक उपचार पनि गर्छन् । जसले नकारात्मक परिणाम ल्याउँछ । यी हुन् जलेपछिका प्राथमिक उपचार :

लक्षण
पोलेको ठाउँमा अत्यधिक दुखाइ हुने ।
पोलेको ठाउँको छाला रातो हुने, फोका उठ्ने (जलन सामान्य भएमा) ।
प्रभावित भाग सुन्निने ।
बिरामीको अवस्था जटिल भएमा बेहोसीकै समस्या हुन्छ ।

प्राथमिक उपचार
आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटनास्थलबाट बाहिर निकाल्ने र बाक्लो कपडाले छोप्ने ।
घटना भएको १५ देखि २० मिनेटभित्रै पोलेको अंग चिसो पानीमा डुबाउने ।
पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि
सकिन्छ ।
पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ ।
बिरामी खान सक्ने अवस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने ।
जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाईकन छिटोभन्दा छिटो स्वास्थ्य संस्था पु-याउनुपर्छ ।
जलेपछि उठेको फोकालाई कहिल्यै पनि फुटाउने प्रयास गर्नुहुँदैन ।
सायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ । र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ ।
त्यस्तै, रसायनले जलेमा सोडियम बाइकार्बोनेटले धुन पनि सकिन्छ । त्यस्तै, अल्काली, छारले जलेको भएमा पानीभन्दा पहिला भेनेगरले धुनुपर्छ ।

प्राथमिक उपचारमा
घाइतेको दुखाइ कम गर्न र छिटो निको हुन सघाउन प्राथमिक उपचार गरिन्छ । सहज तरिकाले स्वास्थ्य संस्था पु-याउनु पनि प्राथमिक उपचार हो । त्यसैले प्राथमिक उपचारका क्रममा बिरामीको वरिपरि भिड गर्नुहुँदैन ।
घाइतेको गम्भीरता हेरी नडराईकन व्यवस्थित रूपमा प्राथमिक उपचारमा ध्यान दिनुपर्छ ।
घाइते वा बिरामीलाई कहिल्यै पनि अनावश्यक रूपमा हिँडाउनु हुँदैन । र, सजिलो आसनमा राख्नुपर्छ ।
अत्यावश्यक उपचार दिई जतिसक्दो चाँडो स्वास्थ्य संस्था पु-याउनुपर्छ ।
जटिल दुर्घटना भएमा प्रहरीलाई खबर गर्न बिर्सनुहुँदैन ।


प्रतिक्रिया दिनुहोस्