Logo

वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव आज गृह जिल्ला पठाइएको छ । दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरेर विहान गृह जिल्लातर्फ पठाइएको हो । नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजान लागेको हो । सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ ।

पुस १३ मा रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन् । सुजन रावतको छातीमा निलडाम भेटिएको छ । सुजनलाई गोली नलागेको तर, भाग दौडमा मृत्यु भएको हुनसक्ने आंकलन छ । सुरक्षाकर्मीले हानेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको छ ।

शाहलाई प्रहरीले प्रहार गरेको एसएलआरको गोली लागेको पुष्टि भएको छ । मृतक परिवार र सरकारबीच चारबुँदे सहमतिपछि परिवारले शव लैजाने सहमति दिएको हो । सहमतिको पहिलो बुँदामा मृतकका परिवारका १÷१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ । मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने पनि सहमतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्