Logo

प्रधानमन्त्री बन्दै गौरी मल्ल

सर्च फर कमन ग्राउण्ड नेपाल(सर्च)ले टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन छिट्टै नै प्रस्तुत गर्दैछ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई ‘नुमाफुङ’ चलचित्रबाट चर्चामा आएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । शुभ मिडिया होमको निर्माणमा बनिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्ने सकिनेछ ।

“प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन्, र यसपाली उनी गठबन्धन सरकारको नेतृत्व गर्दैछिन्”, अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शैलीमा भनिन् । आफ्नो भूमिकाकाबारे अझ प्रष्ट्याउँदै उनी भन्छिन्, “सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु, र त्यो पनि देश साँच्चिकै वृहत राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा ।

निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताहरूका लागि सुशासनको रोडम्यापका रूपमा कार्य गर्नेछ ।” दोस्रो श्रृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यहरूलाई दर्शकसामू ल्याउनेछ र चुनौतिको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक सँस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहहरूलाई उजागर गर्नेछ ।

सर्चले गरेको पछिल्लो सर्वेक्षणका अनुसार ६६.७० लाख दर्शकले सिंहदरबारको पहिलो श्रृंखला हेरेका छन् र ८६५ भन्दा धेरैले पहिलो श्रृंखला हेरिसकेपछि देशमा महिला प्रधामन्त्रीलाई स्वीकार गर्न आफू तयार रहेको बताएका छन् । १३ भागको श्रृंखलाले वर्तमान समयको राजनीतिलाई प्रतिबिम्बित गर्दछ र देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनका लागि अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नु परेका चुनौतिहरूलाई केलाउने प्रयत्न गर्नेछ । यो श्रृंखलाले संघीयता, असल शासन, नागरिकको मौलिक हक, समावेशीकरण तथा लैङ्गिक अल्पसंख्यकहरूका अधिकार जस्ता महत्वपूर्ण मुद्दाहरूलाई पनि अगाडि सार्नेछ ।

अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड – नेपालले उत्पादन गरेको यो टेलिश्रृंखला यही असारको अन्तिम साता प्रसारण गर्ने लक्ष्य राखिएको छ । श्रृंखलाको दोस्रो सिजनमा कलाकारहरू गौरी मल्ल, रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि प्रमुख भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्