हेटौँडा- नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेट खेलाडी रिजन ढकाललाई उनको गृह नगर हेटौँडामा भव्य स्वागत गरिएको छ। प्रतियोगिता सकेर हेटौँडा पुगेका ढकाललाई स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका हुन्।
ढकालको सफलतालाई लिएर मकवानपुर जिल्ला क्रिकेट संघ, हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले हेटौँडाको कांग्रेस चोकमा विशेष स्वागत कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा वडा अध्यक्ष विष्णुगोपाल महर्जन, वडा सदस्य सुरज बर्तौला लगायतको उपस्थिति थियो। स्थानीय बासिन्दाले ढकालको उपलब्धिले हेटौँडा र मकवानपुरको नाम उच्च राखेको भन्दै खुसी व्यक्त गरे।
चितवन राइनोजबाट एनपीएल खेलेका ढकालले प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै नौ खेलमा १७ विकेट लिएका थिए। उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्। उत्कृष्ट प्रदर्शनका आधारमा उनले दुईवटा व्यक्तिगत पुरस्कार प्राप्त गरेका छन्। उनले ‘उत्कृष्ट नेपाली खेलाडी’ घोषित हुँदै ओमोडा एन्ड जेइको कार र प्रतियोगिताको ‘उत्कृष्ट बलर’ बन्दै पल्सर मोटरसाइकल जितेका हुन्। प्रतियोगिताभरको उनको प्रदर्शनले मकवानपुरको क्रिकेटलाई राष्ट्रिय स्तरमा थप चिनाउन सफल भएको छ।

















प्रतिक्रिया