Logo

जग्गा किनबेच मात्रै होइन अशंबण्डाका नाममा हुने कित्ताकाटसमेत रोक्न खोज्दैछ सरकार, कृषिमन्त्रीले दिए तत्काल रोक्न ठाडो निर्देशन

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ । उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गर्नुभयो । रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ कार्यालयले आज बुटवलमा गरेको साक्षत्कार कार्यक्रममा मन्त्री खनालले कृषियोग्य जमिनको खण्डीकरण जसरी पनि रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जग्गा प्लटिङ रोकिएको भए पनि अशंबण्डाका नाममा हुने कित्ताकाटसमेत रोक्न कडा निर्देशन दिएको उहाँले बताउनुभयो । अंशबण्डाका नाममा भएको जग्गाकारोबार रोक्न त्यस्तो निर्देशन दिएको भन्दै मन्त्री खनालले आम जनतामा नयाँ व्यवस्थाको शुरुआतमा कठिनाइ भए पनि धैर्यता राख्न आग्रह गर्नुभयो । कृषकका लागि हरियो कार्डको व्यवस्था गरी उचित अनुदान, ऋण तथा अन्य सुविधा सरकारले उपलब्ध गराउने भन्दै उहाँले अबको केही समयमा नतिजा आउने गरी कृषि मन्त्रालय काममा जुटेको छ भन्नुभयो ।

कृषिमन्त्रीले मल, बीउ, औजारजस्ता कृषि क्षेत्रका महत्वपूर्ण वस्तुमासमेत सिन्डिकेटको जालो रहेकाले त्यसलाई तोड्ने गरी कार्य भइरहेको बताउनुभयो । उहाँले समयमै कृषकलाई बीउ, मलखाद उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको स्वीकार गर्दै अब त्यो समस्या समाधान हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्