विश्वकपको ब्राजिल संस्करणमा उपविजेता बनेको अर्जेन्टिनालाई रुस विश्वकपमा स्थान बनाउन ठूलो संघर्ष गर्नु पर्यो । ब्राजिलले चिलीलाई हराएपछि अन्तिम खेलमा इक्वेडरमाथि हात पारेको ३–१ को जितपश्चात अर्जेन्टिना तेस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो ।
विश्वकपको चारबाहेक सबै संस्करणमा सहभागिता जनाएको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि उचालेको थियो भने तीन संस्करणमा उपविजेतामा सिमित बनेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो भने सन् १९३०, १९९० र २०१४ को विश्वकपमा उपविजेतामा चित्त बुझाएको थियो ।
ब्राजिलमा उपविजेतामा चित्त बुझाउन बाध्य भएको अर्जेन्टिनाले विश्वकपको नवप्रवेशी टिम आइसल्याण्डविरुद्धको खेलबाट रुस विश्वकपको आरम्भ गर्दैछ । मस्कोस्थित ओस्क्रिटिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ ।
विश्व फुटबलमा अण्डरडग रहेको आइसल्याण्ड युरोपियन च्याम्पियनसिपमा विश्व एरेनामा प्रभावशाली प्रदर्शनमार्फत उदय भयो । सन् २०१६ को युरोकपमा तहल्का मच्चाएको आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्दैछ । छनोट चरणमा समूहको विजेता बन्दै उसले रुसको यात्रा तय गरेको थियो ।
विश्वकपमा सहभागी सबैभन्दा सानो देश आइसल्याण्डका लागि लियोनल मेस्सीलाई रोक्नु सबैभन्दा ठूलो चुनौती हुनेछ । प्रशिक्षक हेमिर हल्लाग्रिमसनले पारम्पारिक ४–४–२ को फर्मेसनमा टिम उतार्दै आएका छन् र यो फर्मेसन सफल पनि हुँदै आएको छ । यसको काउन्टर एट्याकिङ अर्जेन्टिनाको कमजोर डिफेन्सका लागि ठूलो चुनौती हुनेछ ।
प्लेयर्स टू वाच
लियोनल मेस्सी – अर्जेन्टिना
अघिल्लो संस्करणमा उपविजेतामा सिमित भएपछि लियोनल मेस्सीमा विश्वकपको ठूलो भोक छ । उनलाई सर्जियो एग्युरो, पाउलो डिबाला, गोञ्जालो हिग्वे र एन्जेलल डि मारियाले साथ दिनेछन् । ३० वर्षे मेस्सीले अर्जेन्टिनाका लागि १२४ खेलमा ६४ गोल गरेका छन्, जुन अर्जेन्टिनाका लागि कीर्तिमानी गोल संख्या हो ।
पछिल्लो चार वर्षमा तीनवटा फाइनल खेलेका लियोनल मेस्सीको टिम अर्जेन्टिना तीनै पटक पराजित हुन पुग्यो । विश्वका सर्वोत्कृष्ट खेलाडी हुँदै गर्दा पनि आफ्नो देशलाई एउटा पनि उपाधि दिलाउन नसकेका मेस्सीको प्रदर्शन उल्लेख्य हुने आंकलन गर्न सकिन्छ ।
गेल्फी सेगुर्डसन – अाइसल्याण्ड
जितको उत्सव मनाउनका लागि अन्य खेलाडीहरु कुनै पव वा रेस्टुरेन्टमा जाँदै गर्दा गेल्फी सेगुर्डसन आइसक्रिम पार्लर जान्थे । सादा जीवनमा विश्वास गर्ने यी मिडफिल्डरको सिर्जनात्मक फुटबल शैलीमा आइसल्याण्ड भर पर्दै आएको छ ।
इंग्लिस क्लब एभर्टनबाट प्रिमियर लिग खेल्दै आएका सेगुर्डसन पछिल्लो ६ वर्षयता आइसल्याण्डका महत्वपूर्ण खेलाडी रहँदै आएका छन् । उनले आइसल्याण्डका लागि ५७ खेलमा १९ गोल गरिसकेका छन् । उनको आक्रमण शैली, सेटपिस र ‘ओपन प्ले’ खेल्ने क्षमताका कारण आइसल्याण्डको शक्ति आकाशिएको हो । तर रसिया आउँदै गर्दा सेगुर्डसन इन्ज्युरीको मारमा परेका छन् । उनी अर्जेन्टाइन डिफेन्डर जेभियर मास्चेरानोलाई समस्या दिन सक्नेछन् ।
प्रतिक्रिया