Logo

किन पर्‍याे हिलो सहितको पानी ? यस्तो छ रहस्य

काठमाडौं – पार्किङ गरेर राखेको मोटरसाइकल वा गाडीमा आज बिहानै हिलो देख्नुभयो ? हिजाे राख्दा राम्रै भएको गाडी वा मोटरसाइकलमा हिलो कहाँबाट आयो भनेर अचम्ममा पर्नुभयो ? भूइँमा भएको धुलो पो उछिट्टिएर हिलो भयो कि भन्ने सोच्नुभयो कि ? तपाईँको गाडी वा मोटरसाइकलमा भूइँको हिलो लागेको होइन । शुक्रबार राति हिलोसहितकै वर्षा भएकाले त्यसो भएको हो ।

शुक्रबार राति नेपालका धेरै ठाउँमा हिलोसहितको पानी परेको छ । भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको हावाले ल्याएको धुलोको कारण फोहोर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार उच्च वायुमण्डलमा भारतबाट आएको धुलो टाँसिएपछि फोहोर पानी परेको हो । अरु बेलामा पनि उच्च वायुमण्डलमा भारतबाट धुलो आउने गरेको छ । तर पानी नपर्दा यो वायुमण्डलबाट नै मध्य क्षेत्र हुँदै पूर्वबाट बाहिरिने गरेको उहाँको भनाई छ ।

वर्षातको समयमा भने पानी पर्दा धुलो पनि सँगै झरेपछि फोहोर पानी परेको उहाँले जानकारी दिनुभयो । केही समयअघि अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको अध्ययनले भारतमा वायु प्रदुषणको मात्रा निकै उच्च भएको देखाएको थियो ।

नेपालमा बहने हावा भारत हुँदै आउने भएकाले त्यहाँको धुलो पनि सँगै आएको मौसमविद् रिमालको भनाई छ । हिलो पानी परेपछि के भयो भनेर धेरै जना अन्यौलमा परेका थिए ।

तस्बिरहरु – सुवास कार्की र अर्जुन पाेख्रेलकाे ट्विटरबाट

प्रतिक्रिया दिनुहोस्