Logo

प्रधानमन्त्रीद्वारा राजिनामा

जोर्डनका प्रधानमन्त्री हानी मुल्कीले सोमबार राजा अब्दुल्लाह द्वितीयलाई राजिनामा बुझाउनु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री मुल्की नेतृत्वको सरकारका विरुद्धमा भइरहेको आन्दोलन कठोर बन्दै गएपछि उहाँले राजिनामा दिनु भएको हो ।

“प्रधानमन्त्री मुल्कीले उहाँको राजिनामा राजा समक्ष पेश गर्नु भएको छ, राजाले उहाँको राजिनामाको अपेक्षासहित राजदरबारमा भएको बैठकमै उहाँले राजिनामा दिनु भएको हो,” समाचार श्रोतले एएफपीलाई भन्यो ।

राजाले शिक्षा मन्त्री ओमर अल रज्जाजलाई नयाँ सरकार गठन गर्न आदेश दिनुभएको पनि श्रोतले जनाएको छ ।

राजधानी अम्मान र देशका प्रमुख सहरहरूमा गत बुधबार देखि सरकार विरुद्ध सशक्त आन्दोलन सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको सिफारिसमा सरकारले आय कर लगाउने सम्बन्धी कानुनको मस्यौदा पारित गरेको विरोधमा प्रदर्शन भएको हो ।

मदागास्कारका प्रधानमन्त्रीद्वारा पनि राजिनामा

त्यसैगरी, मदागास्कारका प्रधानमन्त्री ओलीभियर महाफाल्य सोलोनान्ड्रासानाले पनि सोमबार नै राजिनामाको घोषणा गर्नु भएको छ ।

उच्च संवैधानिक अदालतले उहाँलाई गत हप्ता सात दिन भित्रमा राजिनामा दिन आदेश दिएकाले उहाँले आज राजिनामा घोषणा गर्नु भएको हो ।

“मैले मेरो पदबाट राजिनामा दिएको छु, यसमा कुनै समस्या छैन, मैले राष्ट्रपतिलाई मेरो राजिनामा पत्र पठाउने छु,” सोमबार आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीभियरले भन्नुभयो ।

उहाँले उच्च संवैधानिक अदालतको निर्णयका कारणले नै आफुले राजिनामा दिन लागेको स्पष्ट पार्नु भएको छ । अदालतले सम्झौता अनुसार नयाँ सरकार बनाउन पनि आदेश दिएको थियो ।

“मैले अदालतको आदेशप्रति कुनै प्रतिवाद नगरी राजिनामा दिने निर्णय गरेको छु, त्यसलाई सहयोग गर्न नै मैले राजिनामा दिन लागेको हुँ,” उहाँले भन्नुभयो ।

पुर्वप्रधानमन्त्री जेअन राभेलोनारिभोलाई विस्थापित गर्दै ५३ बर्षिय नेता ओलीभियर सन् २०१६ को अप्रिल १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्