Logo

स्पेनको नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

मड्रिड । स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्नुहुने भएको छ । निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बन्नुभएको हो ।

निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो ।समाजवादी नेता नवनिर्वाचित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुनुहुन्छ । तर उहाँलाई सरकार सञ्चालनको अनुभव भने छैन । स्थानीय समयानुसार उहाँले बिहान ११ बजे राजा फेलिपे छैठौंको अगाडी मड्रिडमा रहेको राजदरबारमा सपथ लिने कार्यक्रम रहेको छ ।

स्पेनमा निकै प्रभावशाली नेता मानिनुहुने ६३ वर्षीय राजोए गत सन् २०११ देखि राज्यको शक्तिमा हुनुहुन्थ्यो । उहाँका विरुद्धमा सान्चेजले गत मे २५ तारिखका दिन भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।उहाँको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए ।

सोसलिस्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीले पनि पेड्रोलाई मतदान गरेका छन् । उहाँले आफू वार्तामार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताउनुभएको छ । स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्