खुसीको खबर : एक रुपैयाँमा बास र दुई छाक खाना ! सक्दो शेयर गरेर नेपाल भ्रमण वर्ष सफल पारौ !


नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो ।

विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिलोपटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बस्नुभएको छ । चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बेलुका र आज बिहानको खाना खुवाएको छ ।

होटल व्यवसायी सङ्घ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजना अनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटकको रुपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो । उहाँहरुलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणासमेत गरिएको छ ।

होटल व्यवसायी तथा चियाबारी कटेजका प्रोपाइटर थेवा तामाङले होटल व्यवसायीको नाताले विदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन् । भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एक जना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ ।