Logo

देशको सबै भू-भागको रक्षाको लागि आम नेपाली एक हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने र माटोको सम्मानमा बोल्नै नहुने अवस्था सिर्जना गरिएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले सत्य कहिल्यै नहार्ने र स्वाभिमान कहिले पनि नमर्ने भन्दै देशको सबै भू–भागको रक्षाको लागि आम नेपाली एक हुनु पर्ने बताउनु भएको छ ।

आधुनिक नेपालका निर्माता पृथ्बीनारायण शाहको २९८ औं जन्मजयन्तीको तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने कार्य कतैबाट हुन नहुने उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्दछ, देशको सबै भू–भागको रक्षा तथा समग्र नेपालबासीको समृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

उहाँले जनमानसमा के छ र के भइरहेको छ ? सबैमा स्पष्ट रहेको चर्चा गर्दै विज्ञप्तीमा पृथ्बीनारायण शाहका दिव्योपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको उल्लेख गर्नु भएको छ ।

पूर्वराजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एव मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुन नहुने समेत विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्