काठमाडौं – गायिका आस्था राउतले सिक्किम कन्सर्टका लागि भद्रपुरतर्फ उड्न लाग्दा त्रिभूवन विमानस्थलको चेकजाँच गर्ने प्रहरीले आफुमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा तथानाम गाली गरेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ ।
फेसबुक, ट्विटरजस्ता सञ्जालमा कसैले आस्थाको पक्षमा भनाइ व्यक्त गरिरहेका छन् भने कसैले सुरक्षा जाँचमा खटिएकी प्रहरी जवानको पक्षमा आफ्नो भनाइ लेखेको पाइन्छ ।
शुक्रबार प्रहरीले सो विषयको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि गायिका आस्था राउतको गल्ती देखिएको भन्दै राउतलाई गाली गर्नेहरू बाक्लिएका छन् । यद्यपि कतिपयले आफ्नो गल्तीविना नडराउने हक्की स्वभावकी गायिका आस्था भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
यसै विषयमा लोकप्रिय गायक राजेशपायल राईले भने मध्यधारकाे स्टाटस लेखेका छन् । कुनै एयरपाेर्टमा भारतीय कलाकार साहरुख खानलाई भित्री वस्त्र नै चेक गरेकाे प्रसंग जोड्दै कुनै पनि पक्षमा नरही तटस्थ स्टाटस लेखेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लखेका छन् –
“एयरपोर्टमा साहरुख खानलाई त झन कट्टुमै चेक गरेको थियो । त्यो उस (प्रहरी)काे अधिकार हो । अब रह्यो पुलिसले कस्तो व्यवहार गर्यो चेकिङमा कफी, पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग) पनि पाइदैन उनी बहिनी हुन् । राम्री गायिका हुन् । अझ एक रियलिटी सो द भ्वइसकी कोच पनि हुन् । आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ । माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ, तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार ।
धेरै रुन्ची नबन, अब तिमी ठुली भइसक्यौ । आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रिन आवस्यक छ’ ।”
गायिका राउतलाइ विमानस्थलमा चेकजाँच गर्दा ज्याकेट खोल्न लगाइएको थियो । तर हातमा कफी बोकेकी उनले हातले ज्याकेट खोल्न अपठ्यारो भएपछि प्रहरीलाई उनले हात खाली नभएकाले ज्याकेटको गोजी मात्रै छाम्नुहोस् भनेर आग्रह गरेको र नमान्दा प्रहरी र राउतबीच केही चर्काचर्की भएको सिसिटिभी फुटेजमा देखिन्छ ।
विमानस्थलमा गायिका आस्थालाइ चेकजाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी समेत दिइसकेकी छन् । शुक्रबार प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र व्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।
प्रतिक्रिया