आयो ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर, महाभारतका पाण्डवको विम्बमा समकालीन समाजको कथा, कात्तिक २० मा ‘पाँच पाण्डव’


काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर–२ सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले अन्याय, हिंसा, अत्याचार र सामाजिक विकृतिविरुद्ध पाँच भाइले गर्ने संघर्षलाई मुख्य विषय बनाएको छ। ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य देखिएका छन्। युधिष्ठिरको भूमिकामा रहेका हरिवंशले पृथ्वीलोकमा रहेका आफ्ना भाइहरू दुःख र समस्यामा परेको भन्दै उनीहरूलाई सहयोग गर्न आइपुगेको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ।

हरिवंशले भीम, अर्जुन, सहदेव लगायतका नाम दिँदै चार भाइ बनाएको र उनीहरूसँग मिलेर समाजमा अन्यायमा परेका व्यक्तिको उद्धारमा जुटेको दृश्य ट्रेलरमा देखिन्छ। उनी सामाजिक विकृति र विसंगतिविरुद्ध उभिएका छन्। क्यासिनोमा युवतीको पहिरनलाई लिएर उनले देखाउने व्यवहारले सभ्य समाज निर्माणको सन्देश दिन खोजेको देखिन्छ।

ट्रेलरले पाँच भाइको एकता, सामाजिक न्यायका लागि संघर्ष र अत्याचारविरुद्धको विद्रोहलाई चलचित्रको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरेको छ। यसले ‘पाँच पाण्डव’लाई मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको चलचित्रका रूपमा संकेत गर्छ।

बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। श्रेष्ठले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। उनले ‘पाँच पाण्डव’लाई सोसल ड्रामा विधाको चलचित्रका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ।

दर्शकले चलचित्रमा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउने निर्माण टिमले जनाएको छ। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ।