Logo

अब्बल खेल तर इतिहास रच्‍न चुके सन्दीप लामिछानेले !

चर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा इतिहास रच्न चुकेका छन्। बुधबार उनले अन्तर्राष्ट्रिय टी-२० र टी-२० फ्रेन्चाइज लिगमा शतक विकेटको इतिहास बनाउने अवसरबाट चुकेका हुन्। अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) को बुधबारको खेलमा दुई विकेट लिएको भए सन्दीपले टी-२० क्रिकेटमा शतक विकेट पूरा गर्ने थिए। तर, बुधबारको एडिलेड स्ट्राइकर्सविरुद्धको खेलमा उनको टोली मेल्बर्न स्टार्सका लागि कुनै विकेट लिन सकेनन्।

सन्दीपले राष्ट्रिय टोलीबाट १७ खेल खेल्दै २८ विकेट लिएका छन्। उनले अन्तर्राष्ट्रिय टी-२० क्रिकेट खेल भने १८ वटा खेलेका छन्। उनले सन् २०१८ को मे ३१ मा वेस्ट इन्डिज र वल्र्ड एलेवेनबीच भएको खेलमा अन्तर्राष्ट्रि टी-२० क्रिकेट डेब्यू खेलका रूपमा वल्ड एलेवेनबाट खेलेका थिए।

उक्त खेलमा उनले १ ओभर बलिङ गर्दा १२ रन खर्चिएका थिए। त्यस्तै टी-२० फ्रेन्चाइज लिगमा ७० विकेट लिएका छन्। उनले विश्वकै सर्वाधिक लोकप्रिय र महङ्गो फ्रेन्चाइज लिग ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) को दुई सिजन खेलिसकेका छन्।

सन्दीपले सन् २०१८ को आईपीएल सिजनमा दिल्ली क्यापिटल (दिल्ली डेयरडेभिल्स) बाट डेब्यू गरेका थिए। सुरुवाती खेलमा मौका नपाएका उनले पछिल्ला तीन खेलमा ५ विकेट हात पारेका थिए। उनले डेब्यू खेलमा २५ रन खर्चिएर १ विकेट लिएका थिए। अहिले उनी अस्ट्रेलियाको फ्रेन्चाइज लिग बिगबास खेलिरहेका छन्। दोस्रो पटक बिगबास खेलिरहेका उनले यस सिजनमा ११ खेलबाट १४ विकेट लिइसकेका छन्।

सन्दीपले ७३ वटा टी-२० खेल खेल्दा १ हजार ८ सय ४१ रन खर्चिएर ९८ विकेट लिएका हुन्। उनले १ हजार ५ सय ६१ बल गरेका छन्। उनको ७.०८ इकोनोमी रहेको छ। सन्दीपपछि नेपालका बसन्त रेग्मीले ४० टी-२० क्रिकेट खेलबाट ५३ विकेट लिएका छन्। त्यस्तै करण केसीले २७ खेलमा ३३ विकेट लिएका छन् भने सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन्।

सन्दीप आईपीएल तथा बिगबास लिग जस्ता विश्वका चर्चित फ्रेन्चाइज क्रिकेट लिग खेल्ने एकमात्र नेपाली खेलाडी हुन्। उनी हरेक खेलमा सफल हुँदै आइरहेका छन्। बुधबारको खेलमा भने उनी विकेट लिन चुकेका हुन। सन्दीप अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बलर र्‍याङकिङमा ८३औं स्थानमा छन्। उनी जनवरी २०२० मा आईसीसीले प्रकाशन गरेको र्‍याङकिङमा पर्ने एकमात्र नेपाली बलर हुन्। ब्याटिङमा भने पारस खड्का ६०औं स्थानमा छन्। त्यस्तै अलराउन्डर खेलाडीमा पारस २७औं स्थानमा रहेका छन् भने सोमपाल कामी र करण केसी पनि र्‍याङकिङमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्