काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ ५ बजे हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
जारी प्रतियोगितामा यी दुई टोली तेस्रो पटक भिड्न लागेका हुन्। लिग चरण र पहिलो क्वालिफायरमा भएको भेटमा दुवै पटक लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो। अघिल्लो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो।
सुदूरपश्चिमका लागि यसपटक विगतको नतिजा बदल्ने अवसर छ। लगातार तेस्रो सिजन फाइनलमा पुगेको सुदूरपश्चिमले अहिलेसम्म उपाधि जित्न सकेको छैन। पहिलो संस्करणको फाइनलमा जनकपुरसँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो।
फाइनलअघि दुवै टोलीका कप्तानले उपाधि भिडन्तका लागि आफूहरू तयार रहेको बताएका छन्।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अघिल्ला खेलबाट सिक्दै टोलीले फाइनलका लागि राम्रो तयारी गरेको बताए। लुम्बिनीको बलियो बलिङ आक्रमण सामना गर्ने रणनीति टिम मिटिङमै बनाइसकेको उनको भनाइ छ। तर त्यसको वास्तविक परीक्षण मैदानमा हुने उनले बताए।
विदेशी खेलाडीको आवतजावतले टोलीको सन्तुलनमा केही प्रभाव पारेको स्वीकार गर्दै ऐरीले आवश्यकताअनुसार ब्याटिङ अर्डरमा परिवर्तन भइरहेको जानकारी दिए। उनका अनुसार टोलीका सबै खेलाडी फिट छन् र कुनै पनि खेलाडी घाइते छैनन्।
यता लुम्बिनीका कप्तान रोहित पौडेलले तीन दिनको विश्रामपछि टोलीले प्रभावकारी अभ्यास गरेको र फाइनलका लागि उत्साहित रहेको बताए।
प्रतियोगितामा मोमेन्टमको महत्त्व रहेको उल्लेख गर्दै रोहितले कठिन परिस्थितिमा पनि जित निकाल्न त्यसले आत्मविश्वास बढाउने बताए। तर अघिल्ला खेलमा प्राप्त जितले फाइनलको नतिजा सुनिश्चित नगर्ने उनको भनाइ छ।
सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले उपाधि जित्न आफ्नो टोलीले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने रोहितले बताए। उनले फाइनललाई व्यक्तिगत र टोली दुवैका लागि इतिहास बनाउने अवसरका रूपमा लिएका छन्।
अब आज साँझ कीर्तिपुरमा हुने फाइनलले एनपीएलको तेस्रो संस्करणको नयाँ च्याम्पियन तय गर्नेछ। लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने प्रयासमा हुनेछ।

















प्रतिक्रिया