Logo

अनुयायीमाथि बलात्कार: सुरक्षामा खटेका हवल्दारलाई वारि झारेर भारत छिरे सिद्धबाबा

अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी भारत गएका छन्। उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाइ भइरहँदा उनी भारत छिरेका हुन्। बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन्। बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको मोरङ प्रहरीले जनाएको छ।

केही दिनयता उनी उपचारका लागि भन्दै भारत जाने-आउने गरिरहेका थिए। बिहीबार उच्च अदालतमा थुनछेक बहस चलिरहँदा गिरी भारत हिँडेका हुन्।

‘केही काम छ तपाईं यहीँ बस्दै गर्नुहोला भनी गिरी भारतिर लागेको सूचना छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन रेग्मीले भने, ‘किन जानुभएको भन्ने खुलेन।’

प्रहरी स्रोतका अनुसार मुद्दा आफ्नो पक्षमा भए नेपाल फर्किने नभए भारततिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने योजनाअनुसार उनी गएका पनि हुन सक्छन्। यसबारे केही पनि भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

गिरी भारत हिँडेको सूचना उनकै बडीगार्डले दिएका थिए। केही समर्थक र अनुयायीसाथ उनी आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए। अदालत नगई उनी सोझै जोगबनी पुगेको प्रहरी स्रोतले जनाएको छ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा गिरीको थुनछेक बहस चलिरहेको छ।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

जिल्ला अदालत सुनसरीले उनलाई पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छोडेको थियो।

प्रतिक्रिया दिनुहोस्