निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको छ। यसअघि उक्त रिटको सुनुवाइ दुई पटक पेसी सरेको थियो।

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्दै पुनर्बहालीको माग गरेका हुन्। आजको सुनुवाइलाई उक्त विवादको महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।