Logo

हेर्नुहोस विश्‍वभर आज के भयो: अमेरिकासम्म फैलियो चिनियाँ संक्रमण, अष्ट्रेलियाको डढेलो निभाउने क्रममा विमान दुर्घटना

मेक्सिको सिटी : अमेरिका छिर्ने तयारीमा रहेका २ हजार भन्दा धेरै आप्रवासीलाई मेक्सिकोले नियन्त्रणमा लिएको छ । ग्वाटेमालाबाट आएका उनीहरु मेक्सिको हुँदै अमेरिका जाने तयारीमा थिए ।

दुई दिनअघि नै उनीहरुलाई दक्षिणी सीमाबाट पक्राउ गरे पनि हालै विज्ञप्ति जारी गर्दै विस्तृत जानकारी दिइएको हो । मेक्सिकोले उनीहरुलाई उद्धार गरिएको जनाएको छ । मेक्सिकोको सीमाबाट अमेरिका छिर्न खोज्दा यहाँका सुरक्षाकर्मीले उनीहरुलाई बलपूर्वक पक्राउ गरेको अधिकारीले जनाएका छन् ।

पक्राउ गरेपछि मेक्सिकोले उनीहरुलाई ग्वाटेमाला फर्काउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको सिमानामा पर्खाल लगाउने घोषणा गरे पनि सुरक्षित भविष्यको लागि मेक्सिको हुँदै असुरक्षित बाटोबाट अमेरिका छिर्न खोज्ने आप्रवासीको संख्या हजारौं पुगेको छ ।

७० वर्षपछि अनुभुति भयो, मुस्लिम बनेर भारतमा बस्न सक्दिन : नसिरुद्धिन शाह

मुम्बइ : बलिउडका प्रभावशाली अभिनेता नसिरुद्धिन शाहले आफू मुस्लिमको रुपमा भारतमा बस्न नसक्ने बताएका छन् । ६९ वर्षीय अभिनेता नसिरुद्धिनले भारतको नयाँ विवादास्पद नागरिकता संशोधन कानुनप्रति दुख व्यक्त गरेका हुन् ।

उनले भारतको पछिल्लो अवस्थाबाट आफू दुखी भएको प्रतिक्रिया दिएका छन् । भारतमा नागरिकता कानुनको विरोधमा प्रदर्शन भइरहँदा फिल्मको प्राज्ञिक बहस गर्ने नसिरुद्धिनले पहिलो पटक मौनता तोडेका हुन् ।

‘द वायर’ले लिएको अन्तर्वार्तामा नसिरुद्धिनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले ७० वर्षपछि आएर आफूलाई मुस्लिम प्रमाणि गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘म र मेरो परिवारले अहिलेसम्म यहाँ बस्न मुस्किल छ जस्तो लागेको थिएन, तर अहिले उनीहरुलाई मुस्लिमको रुपमा भारतमा रहन सकिँदैन भन्ने लागेको छ,’ शाहले भनेका छन् ।

साथै यस्तो संवेदनशील मुद्दामा पनि बलिउडका अरु प्रभावशाली अभिनेताहरु मौन रहेकोमा अचम्म मानेको बताए । नरेन्द्र मोदी नेतृत्वको २०१९ मा नागरिकता संशोधन सम्बन्धी नयाँ कानुन ल्याएको थियो । जुन कानुन मुस्लिम समुदायप्रति पूर्वाग्रही भएको भन्दै देशव्यापी प्रदर्शन हुँदैआएको छ ।

कोरोना भाइरस अमेरिकामा पनि

चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा फैलिएको कोरोना भाइरस अमेरिकासम्म पुगेको छ ।

चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले पुष्टि गरेको हो । चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो । ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए । स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो ।

सुडानमा आक्रमण : १९ को मृत्यु, २५ घाइते

सुडान : साउथ सुडानको विवादास्पद क्षेत्र अबेयीमा आक्रमण हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । बालबालिका सहित २५ जना घाइते छन् । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुका अनुसार कोलोमस्थित दिन्का गाउँमा आक्रमण भएको थियो ।

जुन सीमा क्षेत्र अबेयीबाट ९ किलोमिटर टाढा छ । घटनाको क्रममा तीन बालबालिका हराइरहेको युनेस्कोका अधिकारीले बताए । घटनास्थलमा १९ घर जलेका थिए । मृतकको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अष्ट्रेलियामा डढेलो निभाउने क्रममा विमान दुर्घटना

सिड्नी : अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो निभाउने क्रममा विमान दुर्घटना भएको छ । जहाँ तीनजनाको मृत्यु भएको छ । बिहीबार बिहान डढेलो निभाउन खटाइएको ‘एयर ट्यांकर’ हराइरहेको थियो ।

न्यु साउथ वेल्सका अधिकारीहरुले उक्त विमान उडेको केही बेरमै दुर्घटना भएको जानकारी दिएका हुन् । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । अष्ट्रेलियाको न्यु साउथ वेल्ससहित विभिन्न स्थानमा केही सातादेखि आगलागी भइरहेको छ ।

अमेरिकामा दुई दिनमै तीन गोलीकाण्ड

वासिङ्टन : अमेरिकाको सिएटलस्थित एकजनाले अन्धाधुन्ध गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । अरु थुप्रै गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार चर्चित पर्यटकीय स्थलमा ती व्यक्तिले अचानक गोलीबारी गरेका थिए ।

अमेरिकामा दुई दिनभन्दा छोटो अवधिमा यो तेस्रो गोलीबारीको घटना हो । सिएटल प्रहरीका अनुसार यस घटनाको छानविन भइरहेको छ । जहाँ एक बालकसहित पाँचजना घाइते भएका छन् ।

मध्यस्तता गरिदिन यूएनसँग पाकिस्तानको आग्रह

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विवादित कश्मीर क्षेत्रबारे भारत र पाकिस्तानको मध्यस्तता गर्न आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको डाभोसस्थित विश्व अर्थतन्त्र सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस्तो बताएका हुन् ।

गत वर्षको अगस्ट ५ मा भारतले कश्मीरको स्वायत्तता खोसेर आफूसँगै गाभेको थियो । जब कि, कश्मीर भारत र पाकिस्तानले दावी गर्दैआएका थिए । यही मुद्दालाई लिएर दुई देश दुई पटकसम्म युद्ध गरे । कश्मीरको केही भागमा पाकिस्तानले पनि साशन गर्दैआएको छ ।

खानले नागरिकता कानुनलाई लिएर प्रदर्शन गर्नेहरुलाई नयाँदिल्लीले गरेको व्यवहार सबैभन्दा ठूलो डर भएको प्रतिक्रिया दिए । ‘अहिले हामी द्वन्द्व नजिक छैनौँ, यदी भारतमा प्रदर्शन खराब हुँदैगयो भने र त्यसबाट ध्यान अन्यत्रै मोडियो भने के हुन्छ’ खानले भनेका छन् ।

यस्तै खानले पाकिस्तान र भारतबीच सम्भावित युद्धबारे पनि मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग छलफल गरेका थिए । ट्रम्पले भने उनले दुई मुलुकबीच मध्यस्तता गरिदिन आग्रह गरेको बताएका थिए ।

र यदी पाकिस्तान र भारतबीच युद्ध भएमा त्यो विश्वकै लागि क्षति हुने कुरा खानले ट्रम्पसँगको छलफलमा भनेका थिए । इमरान खानले यसअघि पनि कश्मीरलाई लिएर अन्तर्राष्ट्रिय समुदायसँग मध्यस्तताको लागि आग्रह गर्दैआएका थिए ।

भारतमा निर्भया हत्याका दोषीको मृत्युदण्ड स्थगित

नयाँदिल्ली : भारतमा निर्भया हत्या काण्डका चार दोषीलाई गत डिसेम्बरमा मृत्युदण्डको सजाय तोकिएको थियो । यही जनवरी २२ को बिहान ७ बजे मृत्युदण्ड दिने फैसला भए पनि स्थगित भएको छ ।

नयाँ निर्णय अनुसार फेब्रुअरी १ मा मात्रै उनीहरुलाई मृत्युदण्ड दिइनेछ । १ फेब्रुअरीको बिहान ६ बजेका लागि समय तोकिएको छ । उनीहरुले आफ्नो परिवारलाई अन्तिम पटक भेट्ने र सम्पत्तिको स्रोतबारे कुनै जवाफ दिएका छैनन् ।

भारतको कानुन अनुसार मृत्युदण्ड पाउनुअघि कसुरदारले आफ्नो परिवारको आफूले चाहेको व्यक्तिलाई अन्तिम पटक भेट्न पाउँछ । साथै आफ्नो सम्पत्तिको हकदार कसलाई बनाउने भन्ने प्रश्न पनि कसुरदारलाई अदालतले सोध्छ ।

तर निर्भया हत्याकाण्डका दोषीले यी दुबै प्रश्नको जवाफ नदिएको भारतीय मिडियाले जनाएका छन् । तिहाड जेलको स्रोतलाई हवाला दिँदै एनडिटिभीले चारैजना अभियुक्त ती प्रश्नमा मौन रहेको जनाएको छ ।

मुकेश सिंह, विनय शर्मा, अक्षय सिंह र पवन गुप्तालाई अदालतले यही २२ जनवरीको बिहान ७ बजेका लागि मृत्युदण्ड सुनाएको थियो । तर अन्तिम समयमा मौन रहेपछि उनीहरुले थप समय मागेको हुनसक्ने अनुमान गरिएको छ ।

साथै दुई अभियुक्तले अदालतको फैसलापछि पुनर्विचार गर्न निवेदन दिएका थिए । निर्भयाका परिवार र आफन्तले भने दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गर्दैआएका थिए । २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको २०१२ मा सामूहिक बलात्कारपछि हत्या भएको थियो । जुन घटनाले भारतमा देशव्यापी आन्दोलनको रुप लिएको थियो । घटनाको सात वर्षपछि दोषीलाई अदालतले मृत्युदण्ड दिनुपर्ने फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्