जेलमा रहेका इमरान खानको सुरक्षाका लागि छोराको अन्तर्राष्ट्रिय अपिल


काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग तत्काल हस्तक्षेपको अपिल गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले पाकिस्तानी सेना प्रमुख असीम मुनीर नेतृत्वको सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाको सहारा लिएको आरोप लगाउँदै इमरानको हत्या हुनुअघि नै कदम चाल्न आग्रह गरेका छन्।

यसैबीच, एम्नेस्टी इन्टरनेसनलले इमरान खान र उनकी पत्नी बुशरा बीबीको हिरासत, स्वास्थ्य उपचार तथा परिवार र कानुनी प्रतिनिधिसँगको भेटघाटमा लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ। संस्थाले इमरानलाई आवश्यक स्वास्थ्य उपचार र परिवारसँग नियमित भेटघाटको व्यवस्था गर्न तथा हिरासतमा रहेकी उनकी बहिनी अलीमा खानलाई रिहा गर्न पाकिस्तानी अधिकारीसँग माग गरेको छ।

एम्नेस्टीले लामो समयको एकान्त कारावास र उपचारमा भएको ढिलाइले इमरानको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनीसमेत दिएको छ।