Logo

कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो : २७०० जना स‌क्रमित, भाइरस थाहा नपाइकनै सर्ने चिनियाँ अधिकारीहरुको भनाइ

चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ ।

सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ । गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस यतिखेर चीनका अन्य शहरहरुमा पनि फैलिँदै गएको छ भने चीन बाहिर पनि त्यस भाइरसबाट संक्रमित रोगीहरु फेला परिरहेका छन् ।

वुहान भाइरसका कारण चीनका थुप्रै शहरहरुमा सार्वजनिक यातायात, स्कुल, कलेज, प्रतिष्ठानहरु बन्द गरिएका छन् । वुहान शहरमा जान र त्यहाँबाट बाहिर आउन प्रतिबन्ध लगाइएको छ । यतिखेर चीनका करिब ६० करोड जनताहरुका जनजीवन यसै भाइरसका कारण नराम्ररी प्रभावित भएको छ ।

चीन बाहिर विभिन्न १३ स्थानमा वुहान भाइरसबाट संक्रमित रोगीहरु फेला परिसकेका छन् ।

खतरनाक कुरा के छ भने यो भाइरस कुनै लक्षणहरु देखानपरिकनै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको पाइएको कुरा चिनियाँ अधिकारीहरुले बताएका छन् । तर यो कुराको आधिकारिक र ठोस पुष्टि भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्