प्रधानमन्त्री केपी शर्मा अोलीका विश्वासपात्रहरु एकपछि अर्को गरेर विवादमा मुछिन थालेका छन् । केही समयअघिमात्रै ७० करोडको कमिशन डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट ओलीको विश्वासपात्र गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिए । त्यसको एक साता नबित्दै अर्का विश्वासिला पात्र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि मुद्दा परेको छ । मुख्यमन्त्री राईमाथि अंश मुद्दा दायर भएपछि राजनीतिक माहोल तातिएको छ ।
शुक्रबार दिउँसो काठमाडौं जिल्ला अदालतमा एउटा मुद्दा दायर भएको छ । त्यो अंश मुद्दा हो जसमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई विपक्षी बनाइएको छ । बालिका खड्का नाम गरेकी महिलाले शेरधन राईलाई पति दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । राईले आफूसँग विवाह गरेको दाबी गर्दै घरेलु हिंसाको अभियोग समेत लगाएकी छिन् । खड्काले आफूले अंश पाउनुपर्ने उल्लेख गरेकी छिन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ मानिएकाहरु एकपछि अर्को विवादमा आइरहँदा राईमाथि मुद्दा दायर हुनुलाई अर्थपूर्ण मानिएको छ । योसँगै राईलाई तत्काल पदबाट राजीनामा दिनपनि पार्टीभित्रैबाट आवाज उठेको छ । स्रोतकाअनुसार नेकपाभित्रपनि पूर्व एमाले खेमाकै नेताहरु भीम आचार्य र कृपाशुर शेर्पाहरुले आरोप लागेर मुद्दा दर्ता भैसकेपछि राईले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठाएका छन् ।
प्रतिक्रिया