गेटमा पुग्नेबित्तिकै नाम लेखाउनुपर्ने, पैदलयात्री होस् या सवारी साधन र सबैले । यो कुनै सरकारी अड्डा होइन । ‘लिटिल बुद्ध’ उपमा पाएर यतिखेर बलात्कारको आरोप खेपेका रामबहादुर बम्जनको कमलामाइ नगरपालिका ८ मा रहेको पैरेको आश्रमस्थल हो । गेटबाट दक्षिणतिर लागेपछि जस्ताले छाएका त्रिकोण आकारका लामा घरहरु छन् । अनुयायीहरु यत्रतत्र छरिएर रहेका छन् ।
ठूलो पटाङ्गिनी भएर दक्षिणतरि लागेपछि नवनिर्मित घर आउँछ, जुन आकर्षक शैलीमा बनेको छ । त्यहाँबाट झण्डै पाँच सय मिटर दूरीमा चारैतिर पर्खाल लगाएको र तारले घेरेको भवन आउँछ । त्यहाँ छिर्न निकै कडाइ हुन्छ । अनुयायीहरु गेट बाहिर नै चार हातखुट्टा टेकेर जमिनमा ढोग्ने गर्दछन् । गेटभित्र बम्जन बस्ने भवन चिनियाँ शैलीमा निर्माण भएको छ ।
भवन बाहिरबाट हेर्दा नै निकै सुन्दर छ, भित्र त झन् कल्पनाभन्दा बाहिर नै छ । अनुयायीहरुका अनुसार बम्जनलाई खोज्ने क्रममा प्रहरीले ढोकाको ताला फोरिदिएको हो । राजकीय सानमा बम्जन सुत्ने दुइवटा कोठामा आकर्षक बेडहरु छन् । सजिएको बैठक कोठा छ, भान्सा र शौचालय झनै आकर्षक छन् । कुनै तपस्वीको हो भन्दा पत्यार नै लाग्दैन । बेडमा यत्रतत्र खेलौना छरिएका छन् ।
प्रतिक्रिया