‘लिटल बुद्ध’का नामले चिनिएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा शुक्रबार बिहान प्रहरीले घेराबन्दी गरेको छ। बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका बम्जनलाई अदालतले पक्राउ गर्न पूर्जी जारी गरेपछि प्रहरी सक्रिय भएको हो। विभिन्न आश्रममा बस्दा पाँच जना अनुयायी र आनीहरु बेपत्ता पारिएको, आश्रमका आनीहरुमाथी यौन दुर्व्यवहार गरेको, यातना दिएको आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि उनलाई पक्राउ गर्न शुक्रबार बिहान प्रहरीले घेरा हालेको हो।
जिल्ला अदालत सर्लाहीले आरोपित बम्जन पक्राउ गर्न बिहीबार पूर्जी जारी गरेपछि सिआइवी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको हो। तर, बम्जन आश्रममा नभेटिएपछि प्रहरीले अनुसन्धानका लागि बम्जनका मुख्य सहयोगी तोप्चन गरुमार्ग गुरुका नामले चिनिएका ज्ञानबहादुर बम्जनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले जानकारी दिईन्।
प्रहरीको टोलीले शुक्रबार करिब ६ घण्टा बम्जनको आश्रमलाई घेराबन्दी हालेको थियो। बिहीबार जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ गर्न अनुमति दिए लगत्तै शुक्रबार बिहान करिब चार बजेदेखि प्रहरीले बम्जनको आश्रममा घेरा हालेको थियो। ‘तर, बम्जन आश्रममा फेला पर्न सकेनन्। बम्जनका विषयमा अनुसन्धान गर्न उनका मुख्य सहयोगी तोप्चेन गुरु भनिने ज्ञानबहादुर बम्जनलाई नियन्त्रणमा लिएर सोधपुच्छ गरिरहेका छौं,’ उनले भनिन्।बिहीबार बेलुकासम्म बम्जन आश्रममानै रहेको सूचनाका आधारमा प्रहरीले आश्रमलाई घेराबन्दीमा हालेर बम्जनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। उनी प्रहरी आएको थाहा पाएपछि आश्राम नजिकैको जंगलमा लुकेको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ।
बम्जन र उनका सहयोगीलाई नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी बेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी दिएका छन्।
बेपत्ता भएका भनिएका सुरेश आलेमगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका थिए। बेपत्ता भएका भनिएका चारै जना २०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको बताइएको छ।
प्रतिक्रिया