Logo

अनुसन्धानकर्ताको चेतावनी- भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्न सक्छ

भारतका एक जना विशेषज्ञले कोरोना भाइरस संक्रमणबाट धेरै क्षति व्यहोर्ने अर्को देश भारत बन्ने चेतावनी दिएका छन् । उनकै शव्दमा भारतमा कोरोना संक्रमणको ‘सुनामी’ आउनेवाला छ ।कोरोना संक्रमित फेला परेका देशहरुको संख्या १६८ छ भने १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा ३३२ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । गत २४ घण्टामा भारतमा ८३ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतको अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेका सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले भारतमा कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुने बताएका छन् । विश्वका अन्य देशको तुलनामा भारतमा कोरोना संक्रमणको दर कम हुने कुनै संकेत नदेखिएको उनको भनाइ छ ।बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्पेन र चीनमा जस्तो अवस्था छ, जति धेरै त्यहाँ संक्रमित छन्, त्यस्तै हालत भारतमा पनि हुन्छ । केही हप्तामै हामी कोरोनाको सुनामीका लागि तयार रहनुपर्छ ।’

अन्य देशहरुको तुलनामा कोरोना भाइरस संक्रमणको दर हाल भारतमा कम देखिएको छ । तर विश्वका अरु देशहरुमा जस्तै भारतमा पनि कोरोनाको परीक्षण एकदमै थोरै भइरहेको उनको भनाइ छ ।डा. लक्ष्मीनारायणले भनेका छन्, ‘जब धेरै व्यक्तिको स्वास्थ्य परीक्षण हुन्छ, तब बिरामीको संख्या पनि धेरै देखिन्छ । मलाई लाग्छ यो संख्या एक हजारभन्दा बढी हुनसक्छ । त्यसैले हामी तयार रहनुपर्छ ।’ उनले चीनमा जस्तै भारतको जनघनत्व पनि बढी भएकाले संक्रमण छिटो फैलिन सक्ने आँकलन गरे ।

कम्युनिटी ट्रान्समिसन संक्रमण फैलिने तेस्रो र केही खतरनाक अवस्था हो । यो यस्तो अवस्था हो, जब कुनै व्यक्ति अर्को संक्रमित व्यक्तिको सम्पर्कमा नआइकन वा भाइरस संक्रमित देशको यात्रा नगरीकन पनि देखिन्छ ।भारतमा हाल धेरैजसो विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको मात्र स्वास्थ्य परीक्षण गरिएको छ । तर जब कसैलाई म कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको छु भन्ने थाहा हुँदैन तब त्यो व्यक्तिमार्फत संक्रमण अन्य धेरै व्यक्तिसम्म फैलियो भने समस्या सिर्जना हुन्छ ।

भारतमा कोरोना संक्रमित कति होलान् भन्ने प्रश्नमा डा. रामाननले भनेका छन्, ‘अमेरिका र बेलायतमा ५० देखि ६० प्रतिशत व्यक्ति संक्रममित भएका छन् । यसलाई हेर्दा भारतको करिब २० प्रतिशत जनसंख्या संक्रमणको चपेटामा पर्न सक्छन् । भारतको २० प्रतिशत जनसंख्या भनेको करिब ३० करोड जना हो ।’

प्रतिक्रिया दिनुहोस्