सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिने मृत्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, हामीले शनिबार पशुपति आर्यघाटमा देख्यौँ ।
हामी पुग्दा विद्युतीय शवदाहगृहको मूलढोका ढप्क्याइएको थियो । झ्यालबाट टिकट काउन्टरमा एक युवा बार्गेनिङ गरिरहेझैँ देखिए । हामी नजिकै पुग्यौँ । काउन्टरभित्रबाट कर्मचारी भन्दै थिए, ‘यति रकममा त हुँदै हुन्न, कहाँ लानु छ लैजाऊ ।’ यो कठोर शब्द सुनेर युवाको मुहारमा पीडा मडारियो । सँगै रहेकी युवती अवाक भइन् ।
प्रतीक्षालयमा बसेर हामी यो सब नियालिरहेका थियौँ । केहीबेरमा युवती हामीनजिकै आएर कुर्सीमा बसिन् । उनी अवाक थिइन् । केहीबेरमा युवा पनि आए । गरिबीलाई सराप्दै उनी भुतभुताउन थाले, ‘उपचार गरेर बचाउन त सकिएन, मरेपछि लास पनि जलाउन सकिएन ।’ युवती प्रतिक्रियाविहीन थिइन् ।
प्रतिक्रिया