Logo

प्राविधिकलाई नायक पल शाहको ५ लाख सहयोग घोषणा

नायक पल शाहले कोरोना भाइरसको प्रभावले मारमा परेका प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । विश्वभर फैलिएको कोरोनाको महामारीबाट बच्नको लागि सरकारले नेपालभर लकडाउन गरेको छ ।

यस्तो अवस्थामा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुको ध्यानमा राख्दै नायक शाहले ५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् आर्थिक स्थिति कमजोर भएका प्रविधिकलाई सहयोग गर्ने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९)को प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ ।

नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यसको पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरुको जनजिवनलाई सहज बनाउनको लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु ।मेरो यो सहयोग वितरण कार्यमा चलचित्र प्रविधिक संघ, नेपालले सहजिकरण गर्ने आशा गरेको छु ।

मैले व्यक्तिगत तर्फबाट पहिलो चरणमा नगद रु. ५,००,००० (पाँच लाख) रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु । आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरु सबैको साथमा म सधै हुनेछु ।’ उनले आफ्नै हातबाट प्राविधिकहरुलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्