जीवाश्म इन्धनको विवादले कोप–३१ को जलवायु सम्झौता सङ्कटमा


काठमाडौँ । जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा देशहरूबीच सहमति जुट्न नसक्दा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को नयाँ जलवायु सम्झौता संकटमा परेको छ। टर्कीको अन्ताल्यामा जारी सम्मेलन निर्धारित समयभन्दा लम्बिएर आइतबार पनि वार्ता जारी रहेको छ।

शनिबार सार्वजनिक गरिएको पछिल्लो मस्यौदाबाट कोइला, तेल र ग्यासको प्रयोग घटाउने वा अन्त्य गर्ने प्रतिबद्धता हटाइएपछि विवाद चर्किएको हो। युरोपेली संघसहित केही देशले जीवाश्म इन्धनबाट क्रमशः बाहिरिने स्पष्ट प्रतिबद्धता सम्झौतामा समेट्नुपर्ने माग गरेका छन्। तर, साउदी अरबको नेतृत्वमा रहेका इन्धन उत्पादक देशहरूले त्यसको विरोध गरिरहेका छन्।

यसैबीच, विकासशील देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि थप आर्थिक सहयोग माग गरेका छन्। मस्यौदामा सन् २०३५ सम्म जलवायु अनुकूलनका लागि उपलब्ध रकम १२० अर्ब अमेरिकी डलर पुर्‍याउने प्रस्तावसमेत हटाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

जलवायु सम्मेलनको सम्झौता सर्वसम्मतिबाट पारित हुनुपर्ने भएकाले सहमति नजुटे वार्ता थप लम्बिने वा निष्कर्षविहीन बन्न सक्ने जोखिम देखिएको छ। जीवाश्म इन्धनको भविष्य, जलवायु वित्त र तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य यस सम्मेलनका मुख्य विवादित विषय बनेका छन्।