Logo

इटालीबाट खुसिको खबर : गम्भीर बिरामीको संख्या घट्यो

विश्वभर कोरोनाको महामारी छ । कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । इटलीका अधिकारीहरुका अनुसार शनिबार एकैदिन ६८१ जनाको मृत्यु भएको छ र मृतकको कूल संख्या १५ हजार ३६२ जना पुगेको छ ।

तर लामो समयपछि शनिबार इटालीमा आशाको पहिलो किरण देखिएको छ । किनभने इटलीमा कोरोना संक्रमितहरुको संख्या पहिलो पटक घटेको पाइएको छ ।इटलीका जनताको सुरक्षा गर्ने निकाय सिभिल प्रोटेक्सन डिभिजन (नागरिक सुरक्षा विभाग)का प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुको संख्या शनिबार ७४ जनाले कमी आएको छ । अघिल्लोपटक अस्पतालहरुमा गम्भीर अवस्थाका बिरामीको संख्या ४ हजार ६८ थियो तर शनिबार घटेर ३ हजार ९ सय ९४ भएको बोर्रेलीले बताएका छन् ।

उनले भनेका छन्, यो हाम्रोलागि धेरै महत्वपूर्ण तथ्यांक हो । किनभने इटलीमा आपतकालीन स्थिति सुरु भएपछि यस्तो भएको पहिलो पटक हो । यो किन महत्वपूर्ण हो भने यसबाट हाम्रा अस्पतालहरुमा धेरै भए पनि राहत मिल्छ । उनीहरुले सास फेर्ने मौका पाउँछन् ।’

इटलीको वैज्ञानिक परिषदका प्रमुख फ्रान्को लोकतेलीले पनि गम्भीर अवस्थाका बिरामीहरुको संख्यामा कमी आउनु राम्रो संकेत भनेका छन् । तर यसलाई इटलीले खतराको अवस्थालाई पार गर्यो भनेर भन्न भने नमिल्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘कोरोना भाइरस नियन्त्रणका लागि हामीले जुन तरिका अपनाएका छौं, त्यो प्रभावकारी हुँदै गएको चाहिँ हो ।’

इटालीमा आधिकारिक रुपमा कोरोना भाइरस संक्रमणको सुरुवात २० फेब्रुअरीबाट भएको थियो । त्यतिबेला लोम्बार्डीको कोडोग्नो क्षेत्रको अस्पतालमा स्वास्थ्य परीक्षण गराएका एक जना ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पहिलो पटक पुष्टि भएको थियो । यद्यपि केही स्वास्थ्य अधिकारीहरुले भने योभन्दा अगाडि नै इटालीमा कोरोना संक्रमण भित्रिएको दाबी गर्दछन् । तर यो कुराको औपचारिक पुष्टि भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्