Logo

कोरोनाविरुद्ध काम मा खट्छौँ तर ज्ञान र सुरक्षाको उपकरण चाहिन्छ : स्वास्थ्य स्वयंसेविका

महिला स्वास्थ्य स्वयंसेविकाहरुले कोरोना भाइरस (काेभिड १९) विरुद्धको अभियानमा आफूहरुलाई खटाउने सरकारको निर्णय राम्रो भएको बताएका छन् ।सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविकालाई कोरोनाविरुद्धको अभियानमा खटाउने निर्णय गरेपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरु खट्न तयार रहेको तर आवश्यक ज्ञान र सुरक्षाका उपकरण भने अनिवार्य रहेको बताएका छन् ।

जुम्लाको पातारासी गाउँपालिका ४ की महिला स्वास्थ्य स्वयंसेविका रुप्शिला नेपालीले विश्वमै महामारीको रुपमा रहेको कोरोनाविरुद्ध आफूहरु खुशी भएर खट्ने बताउनुभयो । तर के गर्ने भन्ने कुरा चाहिँ सिकाउनुपर्ने उहाँको भनाइ छ ।रुप्लिशला जस्तै सर्लाहीको हरिपुर नगरपालिका १ की महिला स्वास्थ्य स्वयंसेविका सुमित्रादेवी महतोले पनि आफूहरु खुशी साथ जाने तर सीप आवश्यक रहेको बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकालाई चेतनामूलक कार्यक्रममा खटाउँदा प्रभावकारी हुने ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । जुम्लाको हिमा गाउँपालिका बड्डी स्वास्थ्य चौकीका अहेब शुक्रराज शाही आफ्नो गाउँघरको अवस्थाबारे थाहा पाएका उनीहरुको काम प्रभावकारी हुने भएकोले सुरक्षा सामग्री सहित खटाउनुपर्ने बताउनुहुन्छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डा. निरेश थापा बाहिरबाट आएका मानिसको स्वास्थ्य निगरानी, घरघरमा हात धुने, दुरी कायम गर्ने जस्ता सीप सिकाउन महिला स्वास्थ्य स्वयंसेविकाकाे काम प्रभावकारी हुने बताउनुहुन्छ ।

सङ्क्रमण भएको शङ्का लागेका वा विदेशबाट आएका मानिसलाई क्वरेण्टीनमा राख्नको लागि पहिचान गर्नुको साथै कोरोना भाइरस महामारी नेपालमा दोस्रो चरणमा पुगेको बेला त्यसलाई समुदायमा फैलिन रोक्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण हुने विज्ञहरु बताउँछन् ।महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका बिरामी जाँच्ने तथा स्याहार गर्ने नभइ सचेतना, निगरानी र मिल्दाजुल्दा लक्षण देखिएमा अस्पताल पठाउनेसम्म हुने र यसको लागि उनीहरुले दुरी कायम गरेर काम गर्न सक्ने भएकोले उनीहरुको सुरक्षा चुनौती धेरै नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

उहाँले सरकारले स्वयंसेविकाहरूले आर्जन गरेको विश्वास र जानकारी एवम् सूचना सञ्जाललाई महत्वपूर्ण सम्पत्ति मानेर महामारीविरुद्धको अभियानमा खटाउन लागेको बताउनुभयो ।नेपालमा खोप कार्यक्रमको प्रभावकारिता र बाल तथा मातृ मृत्युदर घटाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका विश्वमै उदाहरणीय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्