Logo

चीनमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्य

चीनमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक हो ।

चीनले यो भाइरस निस्किएको सहर वुहानमा लगाइएको भ्रमणको प्रतिबन्ध हटाउने तयारी गरिरहेको अवस्थामा चीनमा भाइरसबाट दैनिक रूपमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो । बुधबारदेखि वुहानको लकडाउन पूर्णरुपमा खुल्नेछ । यो सहर भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको सहर हो ।मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् । अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिसहरू हुन् । यससँगै चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेका छन् ।

त्यसमध्ये ७७ हजार एक सय ६७ जना निको भइसकेका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । अहिले चीनमा एक हजार दुई सय ४२ जना कोरोना भाइरसका बिरामी बाँकी छन् । जसमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।हेल्थ कमिशनकाअनुसार एक दिनमा ३० जना लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन्। यससँगै चीनमा लक्षण नदेखिएका बिरामीको संख्या पनि एक हजार ३३ पुगेको छ । यसमध्ये करिब एक चौथाइ विदेशबाट आएका मानिस छन् ।

प्रतिक्रिया दिनुहोस्