धन कमाएर परिवार पाल्न मलेसिया खाडी पुगेका १७ नेपाली नै कोरोना सँक्रमित भएपछि…


नेपाली कामदारको मुख्य गन्तव्य रहेको मलेसिया र खाडीमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्य अहिले कोरोना भाइरसको फैलँदो संक्रमणको चपेटामा छन् । यसले गर्दा त्यहाँ कार्यरत नेपाली कामदार पनि संक्रमणको उच्च जोखिममा छन् । राजधानी दैनिकमा यो खबर छ ।

अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तव्यमा कार्यरत २७ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नुखुलाएकाले ती दशेमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदार संक्रमित भएका देशले उपचार निःशुल्क गर्ने बताएका छन् ।

सबैभन्दा बढी संक्रमित नेपाली कामदार बहराइनमा छन् । बहराइनमा अहिलेसम्म १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएका छन् । केही दिनअघि बहराइनमा एकैपटक नौ जना नेपालीमा संक्रमण देखिएको थियो भने त्यसअघि तीन जना संक्रमित आइसोलेसनमै थिए ।

सल्मावादस्थित करिब ४ सय जना बस्ने एक श्रमिक शिविरमा कोरोना फैलिँदा एकैपटक नौ जना नेपाली त्यसको संक्रमित भएको पाइएको थियो । सो शिविरबाट ६६ जना संक्रमितको पहिचान भएको थियो । बिरामी कामदारलाई आसोलेनसमा राखेर उपचार भइरहेको बहराइनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । बहराइनमा अहिलेसम्म ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४ सय ३१ जना निको भएका छन् भने २ सय ६५ जना आइसोलेसनमा उपचार गरिरहेका छन् । चार जनाको निधन भएको छ ।

एकैपटक ठूलो संख्यामा नेपाली कामदार संक्रमित भएको खबर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधानमन्त्री खालिफा बिना सलमान अल खालिफासँग टेलिफोन वार्ता गरेका थिए । बहराइनका समकक्षीसँग प्रधानमन्त्री ओलीले संक्रमित कामदारको उपचार र सुरक्षामा चासो राख्दै सहयोगमा लागि धन्यवाद ज्ञापन गरेका थिए ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि नेपाली कामदार संक्रमित बनेका छन् । अहिलेसम्म यूएईमा आठ जना नेपाली कामदार कोरोना संक्रमणको चपेटामा परेका छन् । त्यसमध्ये दुई जना सन्चो भएर अस्पतालबाट डिस्चार्ज भइसकेका दुबईस्थित नेपाली दूतावासले जनाएको छ । ६ जना उपचारकै क्रममा छन् । यूएईले कामदारको उपचारमा पनि स्वदेशीसरह नै महŒव दिएको दूतावासले बताएको छ ।

यूएईमा अहिलेसम्म १७ सय ४४ जना संक्रमित भेटिएका छन् । १ सय ४४ जना उपचारपछि घर फर्किएका छन् भने १० जनाको देहवसान भएको छ । यसैगरी, साउदी अरबमा काम गरिरहेका चार नेपाली कामदार पनि कोरोनाबाट संक्रमित बन्न पुगेका छन् । रियादस्थिति नेपाली दूतावासका अनुसार चार जना नेपाली संक्रमित भएर उपचाररत छन् । तर, ती कामदार को थिए र कहाँ कार्यरत थिए भन्ने जानकारी दूतावासलाई त्यहाँको सरकारले दिएको छैन ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार ४ सय २ पुगेको छ । उपचारमा रहेका ४ सय ८८ जनालाई निको भएको छ भने ३४ जनाले ज्यान गुमाएका छन् । साउदीले संक्रमण रोक्न विभिन्न क्षत्रेमा कर्फ्यु लगाएको छ भने घर फर्किन नपाएका कामदार अवैध नहुने गरी आवासीय परिचयपत्र (अकामा)को म्याद तीन महिना थपिएको छ ।