‘काठमाडौंमा भोकले मर्नुभन्दा बौलाउनु निको’, हामी मजदुरलाई कसले गन्छ ? हिँडेपछि हिँडियो हिँडियो !
काठमाडौं – लामो लस्करमध्येबाट एकजना बोले, ‘बोक्न गाह्रो होला भनेर पानी धेरै राखिएन । तिर्खाले मरिने पो हो कि ?’ लगत्तै सँगै रहेका अर्का मानिसले प्रतिक्रिया दिए, ‘सुनकोशीमा हामफालौँला नि तिर्खाएर मर्नुभन्दा त ।’ अनुमान गर्न सकिन्थ्यो यो लस्कर धेरै टाढा पुग्नेहरुको हो । आवाजमा पीडा र आक्रोश मिसिएको थियो ।
घडीमा रातको ९ बज्दै थियो ।
एक हुल मानिसहरू कोटेश्वर-भक्तपुर सडकमा हिँड्दै थिए । कसैको शरीरमा ठूलो, कसिएको झोला थियो । कसैको काँधमा बोरा । फित्ते चप्पलको सहारामा पैदल यात्रा गरिरहेका उनीहरुको मुहारमा बाध्यता झल्किरहेको थियो ।
विश्वभर कोभिड-१९ को भय छ । हाम्रो देश पनि अछुतो छैन । त्यसैमाथि लकडाउनको समय हुनाले जो कोहीले पनि भिडलाई प्रश्न गर्न सक्थ्यो ।
सोध्यौँ, ‘यति धेरैजना समूहमा कहाँ जाँदै हुनुहुन्छ ?
भिडबाट एकजना बोले ‘सुनसरी, इनरुवा ।’
‘त्यति टाढासम्म पैदल..?’ हामीले थप्यौँ, ‘यो त गलत भएन र ? लकडाउनको समयमा त सकेसम्म घरबाट ननिस्कने । निस्किहाले पनि समूहमा ननिस्कने । अनि, आवश्यक परेर समूहमा निस्किहाले पनि निश्चित दुरी कायम गर्ने भनेर सरकारले भनेको थाहा पाउनुभएन कि क्या हो ?’
प्रश्नमा जवाफ दिँदै एकजनाले भने-
‘सबै थाहा छ, थाहा भएर मात्र पनि नहुँदो रहेछ, सर । हामी सबै, सँगै बस्ने र काम गर्ने साथी हौँ । एउटा कन्ट्रक्सनमा काम गर्छौँ । काम नभएको थुप्रो दिन भयो । आफूसँग भएको खानेकुरा सकिनै लाग्यो । सरकारले भनेको आजसम्म मान्यौँ । लकडाउन आज सकिएला कि भन्ने थियो, फेरि थपियो । अब पनि काठमाडौंमै बसे खानेकुरा सकिएर भोकभोकै मरिनेजस्तो लाग्यो, हामी त बचेको खाना बोकेर राति नै हिँड्यौँ । दिनमा त निस्किनै दिन्नन् ।’
फेरि सोध्यौँ-
‘सरकारले त तपाईंहरूलाई नै भनेर राहत बाँड्ने भनेको छ । ज्यालादारीमा काम गर्नेहरू भोकै नमरुन् भनेर आजै प्रधानमन्त्री बोल्नुभएको छ, बस्ने ठाउँतिर कतै राहत बुझ्नुभएन ?’
‘हामीले बुझेको तर, वडा कार्यालय जाँदा यहाँबाट केही समाधान हुन्न’ भनेर पठाउनु भो’ बोलिरहेका एकजनाले जवाफ फर्काए ।
मंगलबार बिहान ११ बजे देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन आउँदै थियो । त्यसको ठूलो अर्थ थियो । अर्थ यस मानेमा थियो कि प्रधानमन्त्री देशवासीका अभिभावक हुन् ।
नेपालमा कोरोना संक्रमणको आजको अवस्था, तोकिएको लकडाउन समय थप्ने घोषणा र त्यसले प्रभाव पारेका क्षेत्रहरूमा राज्यको क्रियाशीलता सरकारले गरेको कामको उपलब्धिबारे सबैको चासो थियो ।
प्रधानमन्त्री ओली तोकिएको निश्चित समयभन्दा केही ढिला आए । लकडाउनलाई जेल जीवनसँग तुलना गरेर आफ्ना अनुभव सुनाए । ज्याला मजदुरीमा काम गर्नेहरुलाई भोकै मर्न नदिइने र सरकारले यसबारे तयारी गरिरहेको बताए ।
तर, विडम्बना ! त्यसै साँझ खानाको अभावले एक हुल मजदुरहरु ललितपुरबाट सुनसरीको इनरुवाको जटिल यात्रा तय गर्दै थिए । त्यो पनि फित्ते चप्पल र फुको चिउराको साहारामा ।
प्रधानमन्त्रीको वक्तव्यमा काम गर्ने मजदुर भनेर उनीहरुले स्थान त पाए । तर, वडा कार्यालयमा राहतको आशा गरेर पुग्दा यहाँबाट केही हुन्न भनेर निराश पारेर फर्काइए ।
प्रधानमन्त्रीले वक्तव्यमा यस समयमा सबैलाई साथ दिन आह्वान गर्दै आफू भ्रष्टाचारविरोधी रहेको जानकारी पनि दिए । थाहा छैन, यो सम्बोधन आवश्यक थियो या थिएन ।
यसरी जटिल यात्रा तय गर्नु केही दिनअघि उनीहरुले पासका लागि स्थानीय जनप्रतिनिधि गुहारेका थिए । त्यताबाट उतै मिलाएर आओ भन्ने जवाफ पाए । यताको वडा कार्यालय जाँदा यहाँबाट हुन्न भनेर ‘गृह मन्त्रालय जानू’ भनियो ।
बरु रातको १० बजे सकसपूर्ण यात्रा गर्न उनीहरुले जोखिम देखेनन् । तर, मन्त्रालय पुग्ने हिम्मत जुटाएनन् । र, बोरामा चिउरा, लुगाका पोका पन्तुरा बोकेर समूहमा निस्किए ।
त्यही भिडमा रहेका एकजनाले अनलाइनखबरलाई सुनाए, ‘परिवारको भोक मेटाउन राजधानी आएका थियौँ । तर, अहिले आफैँले खाना नपाएर गाउँ फर्कनुपर्यो ।’
गन्तव्य- ललितपुरदेखि सुनसरीको इनरुवा । लगभग चार सय किलोमिटरको बाटो । एक हप्तामा पुगिएला कि भन्ने अनुमान ।
यो मनस्तथिति बोकेर पैदल हिँडिरहेका ३७ जनालाई हामीले मंगलबार रातको ९ बजे भक्तपुरस्थित कौशलटारमा भेटेका थियौं । खानेकुरा सकिएपछि बाध्य भएर सहर छाड्नु परेको बताउने उनीहरुको हिँडाइको चालसँगै हामी पनि केही क्षण हिँड्यौँ ।
हिँड्दा हिँड्दै उनीहरुसँग केही कुराकानी भए ।