प्रधानमन्त्रीको भूमिकाप्रति कांग्रेसको गम्भीर आपत्ति


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रति उत्तरदायी र जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारको कार्यशैली र प्रधानमन्त्रीको भूमिकाप्रति गम्भीर आपत्ति जनाएको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको दिनमा समेत प्रधानमन्त्रीले औपचारिक सम्बोधन नगर्नु गम्भीर विषय भएको बताइन्। उनले सरकारले त्यसबारे कुनै स्पष्ट कारणसमेत नदिएको आरोप लगाइन्।

कांग्रेसले वर्तमान सरकार बहुमतको दम्भमा चलेको र प्रतिपक्षलाई पूर्ण रूपमा उपेक्षा गरेको दाबी गरेको छ। बजेट निर्माण प्रक्रियामा विगतमा अपनाइँदै आएको लोकतान्त्रिक अभ्यासअनुसार प्रतिपक्षका सुझाव र सल्लाह समेटिने परम्परा रहे पनि वर्तमान सरकारले त्यसलाई बेवास्ता गरेको कांग्रेसको ठहर छ।

कांग्रेसले सरकारको यस्तो व्यवहारले लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाउने जोखिम रहेको पनि चेतावनी दिएको छ।