‘बेलायतबाट आएदेखि आफ्नै अपार्टमेन्टमा बस्यौं, कतै पनि बाहिर गएका छैनौं…..(भिडियो सहित)


गत चैत ५ गते बेलायतबाट नेपाल आएपछि हामी सिधै पेप्सीकोलास्थित आफ्नो अपार्टमेन्टमा गयौं। उताबाट श्रीमान, सासुआमा र म आएका थियौं। बाहिरबाट आएकोले हामी १४ दिन क्वारेन्टाइनमै बसेका थियौं। त्यहीबीचमा लकडाउन भयो, बाहिर हिँड्ने कुरै भएन। पछि समाचारहरूमा २१ दिन क्वारेन्टाइनमा बस्नुपर्नेजस्तो कुरा आएपछि हामी फेरि कोठामै बस्यौं।
हिजो विदेशबाट आएकाको जाँच गर्ने कुरा आयो। हामी पनि तीनै जना जाँच गर्न गयौं। र्‍यापिड टेस्टमा सबैको पोजेटिभ देखियो। त्यसपछि हामीलाई सिधै पाटन अस्पताल ल्याइयो। अस्पतालबाट तीनै जनाको स्वाब पुनः परीक्षणको लागि पठाइयो।

आज श्रीमान् र आमाको नतिजा पोजेटिभ आयो भन्ने हामीले पनि समाचारहरू हेरेर थाहा पायौं। हामीलाई आधिकारिक रूपमा कसैले पोजेटिभ नतिजाबारे भन्नुभएको छैन। अहिले हामी सबै आइसोलेसनमा छौं। सबैलाई एकदम आराम छ। आमा मज्जाले सुतिरहनुभएको छ। श्रीमान पनि गफ गरेर बसिरहनु भएको छ। हामी कसैलाई पनि अफ्ठ्यारो महशुस भएको छैन। बिहान खाजा खायौं। दिउँसो १ बजे खानामा दाल, भात, तरकारी खायौं।

खाना खाजा सबै अस्पतालले नै व्यवस्था गरेको छ। सबैकुरा राम्रो छ। हामीलाई त आइसोलेसन कस्तो हुन्छ त्यो पनि थाहा थिएन। आज यहाँ आएर हेर्दा त सबै राम्रै पाइयो। पानी, मास्क, पञ्जा सबै दिनुभएको छ। हामी कसैलाई पनि ज्वरो, रूघाखोकी केही पनि छैन। सबैलाई ठीकै छ।

बेलायतबाट आएको यत्रो दिनमा कसरी संक्रमण देखियो भनेर हामी नै चकित छौं। अहिले अस्पतालमा हुँदा पनि कसैलाई केही गाह्रो भएको छैन। हामी त मज्जाले बसिरहेका छौं। अलिक बाहिर आएको खबरले चिन्तित बनाएको छ। हामी आएर बाहिर घुम्यौं भन्ने समाचारहरू आएछ तर त्यस्तो हैन।

हामीलाई पनि यस्तो संकटमा के गर्नुपर्छ भनेर थाहा छ। हामीलाई पनि आफ्नो स्वास्थ्य र परिवारको चिन्ता हुन्छ। हामी बेलायतबाट आएदेखि आफ्नै अपार्टमेन्टमा छौं। कतै पनि बाहिर गएका छैनौं। संक्रमण भएपछि अलिकति के हुने हो भनेर चिन्ता त हुन्छ नै तर त्यस्तो डराएका छैनौं। सबैजना सचेत भएर बसेका छौं। (लन्डनबाट फर्किएर कोरोना संक्रमित श्रीमान् र सासुसँग आइसोलेसनमा रहेकी महिलासँग सेतोपाटीका विवेक राईले गरेको कुराकानीमा आधारित)