बूढानीलकण्ठ नगरपालिकाले गरेको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा एक व्यक्तिमा काेराेना भाइरसकाे संक्रमण पोजेटिभ देखिएको छ । वैशाख ३ गते बुधबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा चैत पहिलाे साता इटाली हुँदै नेपाल आएकी एक युवतीमा काेराेना पाेजेटिभ देखिएकाे हाे । बुधबार वडा नं. ८ मा गरेको र्यापिड डाइग्नोस्टिक टेस्टअन्तरगत ती युवतीकाे नतिजा पोजेटिभ देखिएको हाे ।
र्यापिड टेस्ट गर्दा ती युवतीमा पोजेटिभ देखिएको बूढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेलले पनि पुष्टि गरे । ‘र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठायौं,’ मेयर खरेलले भने।
ती युवतीलाई थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको र थप जानकारी टेकु अस्पतालले रिपोर्ट दिएपछि बताउन सकिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल जानकारी दिएका छन् । संक्रमण पोजिटिभ देखिएका बुढानिलकण्ठ-९ बस्ने ती युवती इटाली हुँदै नेपाल आइपुगेको र २ हप्ता क्वारन्टाइनमा बसेको बताइएको छ । तर उनमा हालसम्म कोरोनाको कुनै पनि लक्षण भने देखिएको छैन ।
उनले नेपाल भित्रिएकाे २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए । त्यस बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ । बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकाे नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।
प्रतिक्रिया