सरकारले लकडाउन उल्ल्घंन गर्नेलाई जेलसम्म पठाउने निर्णय गरेको छ। बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले संक्रामक रोग ऐन २०२० बमोजिम लकडाउन उल्लंघन गर्नेलाई १ महिनासम्म जेल पठाउने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिका प्रवक्ता समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन उल्लंघन गरे १ महिनासम्म जेल पठाउनेगरी प्रहरी र प्रशासनलाई निर्देशन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
‘लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन अब प्रहरी प्रशासनबाट कडी कडाइसाथ अनावश्यक आवागमन गर्नेलाई संक्रमण रोग ऐन २०२० को दफा लगाएर थुनासमेतको कारबाही गर्ने निर्णय भएको छ’, बिडारीले भने। समितिको निर्णयसँगै राजधानीमा बिहीबारदेखि लकडाउनमा थप कडाइ गरिएको छ। गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले लकडाउन कडाइ गर्न निर्देशन भएको उल्लख गरे।
‘सुरक्षा निकायलाई पनि प्रभावकारी परिचालन हुन भनिएको छ’, अधिकारीले सेतोपाटीसँग भने, ‘सीमामा हुन सक्ने सम्भावित प्रवेश पूर्ण रूपमा नियन्त्रण गर्ने र कोही कसैले अनधिकृत प्रवेश गरे पक्राउ गर्नु भन्ने निर्देशन छ।’ जिल्लाका सिडिओहरूलाई सीमाबाट लुकिछिपी आउनेलाई लुकाउनेलाई समेत कारबाही गर्न निर्देशन भएको उनले बताए।
सरकारले पहाडी जिल्लाहरूबाट सुरक्षाको जनशक्ति कटौती गर्दै भारतसँगको सीमामा तैनाथी समेत बढाएको छ। बिडारीले संक्रमणको दर बढ्दै गएकाले उच्चस्तरीय समितिले नेपालमा संक्रमणको अवस्था क्रमश: जोखिमयुक्त हुँदै गएको ठहर गरेको उल्लेख गरे।
प्रतिक्रिया