प्रहरीलाई मुक्का हान्ने चिनिया नागरिक भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’…..(भिडियो सहित)


शुक्रबार नेपाल सरकारले घोषणा गरेको लकडाउनको उलंघन गर्दै सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा परेका चिनिया नागरिकहरुमध्ये एक जना नेपालस्थित भिभो मोबाइलका कन्ट्री म्यानेजर रहेका खुलासा भएको छ ।

३२ वर्षीय गेभिन नाम गरेका ती व्यक्तिसहित करिब ५० जना चिनिया नागरिकहरुले सिंहदरबारको मुलगेट अगाडि आफ्नो देश फर्कन पाउनु पर्ने भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहारसमेत गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनका क्रममा ‘कन्ट्री म्यानेजर’ गेभिनले एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा मातेर तानेका थिए, भने अरु प्रहरीमाथि पनि जाई लागेका थिए ।

यसैक्रममा डीएसपी हरिबहादुर बस्नेतलाई समेत रगताम्य हुने गरी कुटपिट गरेका थिए । ३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ, भने अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको जानकारी गराइएको छ । उनीहरुमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने जानकारी गराइएको छ ।