Logo

हङकङको संसदबाट प्रजातन्त्रवादी सांसद निकालिए

हङकङको संसदबाट प्रजातन्त्रवादी सांसदहरू बलपूर्वक निकालिएका छन् । राष्ट्रगानसम्बन्धी प्रस्तावित कानुनको विषयलाई लिएर विवाद चर्किएपछि सांसदहरूलाई बलपूर्वक बैठक कक्षबाट निकालिएको हो । सो क्रममा एक सांसद घाइते भएका छन् ।हङकङको संसदमा चिनियाँ राष्ट्रगानसँग सम्बन्धित एक कानून प्रस्ताव गरिएको छ । जसमा चिनियाँ राष्ट्रगानमाथि नकारात्मक टिप्पणी गर्नुलाई अपराधका रूपमा ब्याख्या गरिएको छ ।यो प्रस्ताव अघि बढाउन संसदीय समिति गठनको तयारी थालिएको छ । र, यही नेतृत्वको मामला पछिल्लो विवादको चुरो बनेको छ ।

बीबीसीका अनुसार, खासगरी अध्यादेशको अध्ययन गर्ने र त्यसका लागि मतदानको मिति तोक्ने संसदीय समितिको नेतृत्वबारे सांसदहरू विभाजित छन् ।गत साता संसद्‌का अध्यक्ष चान किन–पोरलाई उक्त समितिको नेतृत्व छान्ने अधिकार प्रदान गरिएको थियो । चान चीनपक्षधर सांसद हुन् ।सुरक्षाकर्मीबाट घेरिएका चानले सोमबार प्रक्रिया अघि बढाउने छनक दिएका थिए । लगत्तै प्रजातन्त्र पक्षधर सांसद विरोधमा उत्रिएका थिए ।

विवाद बढेपछि प्रजातन्त्रवादी सांसदलाई सुरक्षाकर्मीले कम्बलले छोपेर नियन्त्रणको प्रयास गरेका थिए । सो क्रममा तनाव हुँदा एक सांसद भुइँमा लडेका थिए । बीबीसीका अनुसार उनी घाइते छन् ।यद्यपि, विवादकै बीच बेइजिङलाई समर्थन गर्ने स्टारी लीलाई उक्त समितिको अध्यक्ष बनाइएको छ । जीको छनोटले प्रस्तावित कानून पारित गर्न सहज हुने हिसाब प्रजातन्त्रवादीको छ ।

प्रजातन्त्रमाथि सांसदको प्रश्न
राष्ट्रगानसम्बन्धी कानून अघि बढाउने तयारी गरिएपछि त्यहाँका प्रजातन्त्रवादी सांसदहरू सशंकित छन् । हङकङको प्रजातन्त्र संकुचन गर्न यस्तो कानून अघि सारिएको बुझाइ उनीहरूको छ । प्रजातन्त्र नरहेको संकेत पछिल्लो प्रकरणले प्रष्ट पारेको ती सांसदहरूको आरोप छ ।‘हङकङमा प्रजातन्त्र छैन । यदि थियो भने हामीले संसदमा यसरी झगडा गर्नुपर्ने थिएन,’ प्रजातन्त्रवादी सांसद एडी चुले भने ।
संसदमा यस्तो कदम चाल्न बाध्य पारिएको उल्लेख गर्दै उनले संसदभित्र र बाहिर दुवैतिर विवाद हुने खतरा औंल्याए ।

तनाव दोहोरिने संकेत
गत वर्ष हङकङको संसदमा सुपुर्दगीसम्बन्धी विधेयक पेस भएको थियो । जसका कारण हङकङ लामो समय रणभूमि बन्याे ।आन्दोलनका कारण लामो समय अस्तव्यस्ततामा गुज्रिएको हङकङलाई राष्ट्रगानसम्बन्धी काननुले पुन: अशान्त पार्ने हाे कि ? चिन्ता र चासाे बढकाे छ ।

प्रतिक्रिया दिनुहोस्