थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो !


नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बिहीबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ४२ पुगेको छ । आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बुधबार एकैपटक १ सय १४ जनामा संक्रमण पाइएको थियो ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका १/१ जना रहेका छन् । योसंगै संक्रमित भएका जिल्लाको संख्या ५१ पुगेको छ ।

लतिलपुरमा मृत्यु भएका व्यक्ति कोरोना संक्रमणबाट : स्वास्थ्य मन्त्रालय

बुधबार साँझ ललिपुरमा भएको ५६ बर्षीय पुरुषको मृत्यु कोरोना भाइरसको संक्रमण कोभिड १९ को कारण नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २२ वुङमतिका ५६ बर्षीय पुरुषको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बुधबार साँझ निधन भएको थियो ।

१ सय ८७ जना निको भए

कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दो रहे पनि निको हुनेको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । बिहीबार दिउँसोसम्ममा १ सय ८७ संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी बिहीबार दिउँसोसम्ममा ६० हजार ६ सय ९६ को पीसीआर टेष्ट सम्पन्न भइसकेको छ भने १ लाख २० हजार ३४ जनाको आरडीटी टेष्ट सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।