काठमाडौं । पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन् ।
भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जनाको गत शुक्रबार स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।गाउँपालिकाका स्वास्थ्य संयोजक पर्वेन्द्र साहका अनुसार १५ दिन अघि उनीहरु भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी नेपाल फर्किएका थिए ।इनर्वा नाका हुँदै नेपाल फर्किएका उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माविको क्वारेन्टिनमा राखिएको थियो ।
प्रतिक्रिया