काठमाडौं वालुवाटारको ब्यस्त सडक मंगलबार बिहान एकाएक जाम भयो । न्यून सवारी साधन चल्दा पनि सडक जाम हुनु अनौठो मानिरहेका यात्रुले जब मध्य सडकमा अष्ट्रिज उफ्रिरहेको देखे अनि हाँसो थाप्नै सकेनन् । निरन्तरण झरी परिरहेका बेला बिहान ११ बजेतिर सडकमा अस्ट्रिच अतालिएर कुदिरहेको थियो । तर्सिरहेको थियो ।
जोडी वा समूहमा रहने अस्ट्रिचहरु एक्लै हुँदा असुरक्षित महसुस गर्ने गर्छन । त्यही भएर एक्लो अष्ट्रिज सडकमै अलमलिएको थियो । नाचे जस्तो गरिरहेको अष्ट्रिज हेर्न मानिसहरु झुम्मिएका देखिन्थे । अनि यात्रु तथा बटुवाहरु चाहिं फोटो–भिडियो खिच्दै हाँस्न ब्यस्त देखिए । सडकमै यता उता गरिरहेको अस्ट्रिचले गाडीहरु रोकिएका थिए ।
गाडीको हर्नका कारण अस्ट्रिचले कता जाने मेलोमेसो नपाएर सडकमा दौडिरहेको देखिन्थ्यो । अष्ट्रिज हेर्नकै लागि सवारी साधन रोकिएका कारण त्यहाँ ट्राफिक जाम भएको थियो । स्थानीयका अनुसार नजिकै रहेको एक रेस्टुरेन्टले पालेको अस्ट्रिच बाहिर निस्किएको हो । पछिल्लो समय नेपालमा मासुका लागि अस्ट्रिचको व्यावसायिक पालन नै भइरहेका छन्।
प्रतिक्रिया