प्रहरीले भेट्टायो कपनको झाडीमा फेला परेकी ‘प्राप्तिका’ की आमा, थप अनुसन्धान हुँदै …..(भिडियो सहित)


गत सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे। छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे। भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। अलपत्र छाडिएकी भनिएकी ती बच्चीलाई बाल गृह सञ्चालक पुष्पा अधिकारीले संरक्षण दिने भन्दै आफैंसँग राखिन्। ती शिशुको नाम नै प्राप्तिका अधिकारी राखिन्।

सामाजिक सञ्जालमा भिडिओ देखेकाहरूले ती नवजात शिशुको पालनपोषणका लागि उनको बाल गृहलाई सहयोग दिए। अरू १६ जना बालबालिकालाई बाल गृहमा राखेकी अधिकारीमाथि कसैले शंका गरेन। प्रहरीले भने बच्चा कसको हो र किन झाडीमा फालियो भन्ने अनुसन्धान थाल्यो।

अनुसन्धानबाट थाहा भयो, विदेशबाट आएकी एक जना महिलाले जन्माएकी ती शिशु उनैले बक्सामा हालेर झाडीमा राखेकी थिइन्। ‘आमालाई भेट्टाएपछि हामीले शिशु बुझाइसकेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले सेतोपाटीसँग भने, ‘आमा केही समयअघि विदेशबाट आएकी हुन्। विदेशबाट आएकी आमाले बच्चा लुकाउन खोज्दा यस्तो भएको देखिन्छ।’

प्रहरीले ती आमाको पहिचान र कुन देशबाट कहिले आएको हो भन्ने खुलाएको छैन। यस विषयमा केयर बाल गृहकी सञ्चालक पुष्पा अधिकारीलाई सम्पर्क गर्दा उनको फोन लागेन। इमेज च्यानल टेलिभिजनसँगको कुराकानीमा क्रममा भने अधिकारीले आमालाई बचाउन ती बालिकालाई आफ्नो संरक्षणमा राखेको बताएकी छिन्।

‘उहाँहरूबाट त्यस्तो गरिदिनु भन्ने कुरा भयो। मलाई बच्चा दिएपछि मैले त्यहाँ गएर त्यस्तो गरेको किनभने एक महिलालाई बचाउनको लागि मैले त्यस्तै गरेकी हुँ। म पनि एक महिला हुनुको नाताले उनलाई बचाएकी हुँ,’ उनले भनेकी छिन्।

चउरमा खिचेको भिडिओ पनि उनले आफ्नो फेसबुकबाट हटाइसकेकी छिन्। डिएसपी केसीले पनि यसबारे अनुसन्धान भइरहेको र सकिएपछि विस्तृत रूपमा जानकारी दिने बताए। ‘बच्चालाई झाडीमा फाल्न उनीहरूको मिलेमतो थियो कि थिएन भन्ने अनुसन्धान गरिरहेका छौं,’ उनले भने,’अहिले बाहिर विभिन्न कुराहरू आए पनि हाम्रो अनुसन्धान सकिएपछमात्रै के हो भन्न सकिन्छ।’