काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि अहिले सरकारको ध्यान पनि खिचिएको छ । एउटा अबोध बालिकालाई देखाएर पैसा जम्मा गर्ने कुत्सित खेल भएको खुलेपछि राष्ट्रिय बालअधिकार परिषद्ले केयर बालगृहमा रहेका अरु बालबालिकाहरुको पनि उद्धार गरेको हो ।
बालबालिका खोजतलास समन्वय केन्द्र, वडा कार्यालय र स्थानीय प्रहरीको रोहबरमा उनीहरुलाई उद्धार गरिएको हो । उद्धारकाक्रममा बालगृहका सदस्यहरुले सञ्चारमाध्यमहरुलाई दृश्य खिच्न अवरोध गरेका थिए । बालगृह सञ्चालन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपनि वडामा भने दर्ता नगरिएको राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलकोे भनाइ छ ।
बालगृहका सञ्चालिका पुष्पा अधिकारीले हालै शिशु फालिएको भन्ने विषयलाई नाटकीय ढंगले प्रस्तुत गरेकोबारे र सो बालगृहमा रहेका बालबालिकाको परिवारको विवरणकाबारेमा अनुसन्धान गरिने प्रतिबद्धता धरेलको छ । २०७४ सालमा खोलिएको सो बालगृहमा हाल ११ जना बालिका छन् । उद्धार गर्नेक्रममा रुवाबासी गरेका ती बालिकाहरुलाई आफ्नो अभिभावककाबारेमा कुनै जानकारी छैन ।
हामीले बालगृहका सञ्चालिकाको कर्तुत खुलासा गरेपछि देश–विदेशमा सनसनी मच्चिएको यस घटनामा अहिले सरोकारवाला निकायको ध्यानकेन्द्रित भएको हो । यसअघि, कपनचौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पाले पालनपोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश–विदेशका मानिसले पैसादेखि सामग्रीसम्म पठाएका थिए ।
तर, पुष्पाको त्यस्तो हर्कत सार्वजनिक भएपछि तिनै सहयोगीहरुले पैसा फिर्ता लगिरहेका छन् । शिशु भने वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाले जन्माएकी थिइन् । आर्थिक अवस्था कमजोर भएको उनलाई सहयोग गर्न आफू र अर्की एक महिलाले यो उपाय लगाएको पुष्पाले जिकिर गर्ने गरेकी छिन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया