सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको गम्भीर आरोप लगाए । उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन । हातखुट्टा बाँध्ने काम भयो । उहाँलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याईयो, प्रतिपक्षीबाट त्योसम्मको हर्कत बरु भएन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको जिकिर गरे । ‘उहाँहरुले सरकारले काम गर्न सकेन भन्नुभयो, अनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने काम भयो, अहिले संसद पूर्नस्थापना गर्ने हो माग गरिएको छ । सरकार असफल भयो, काम गर्न सकेन भन्नेहरु कम्तिमा मध्यावधिमा जाने भनेपछि खुशी भएर निर्वाचनमा जानुपर्ने हो नि । सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?’- उनले प्रश्न गरे ।
उनले कुनैपनि हालतमा संसद पुनर्स्थापाना नहुने पनि जिकिर गरे । उनले सरकारले काम गर्न सकेन भनेपछि, सरकार परिवर्तनको लागि अविश्वास प्रस्ताव पेश गरेपछि, र सरकार गिराउन त्यो खालको प्रस्ताव गएपछि प्रधानमन्त्री ओलीले जनादेशमा जाने कुरा गर्नु स्वागतयोग्य भएको स्पष्ट पारे ।
प्रतिक्रिया