नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कोमा र भेन्टिलेटरमा पुगेको बताएका छन् । उनले सरकार बनेको सात महिना देशको महत्वपूर्ण समय बर्बाद भएको भन्दै कतिपय कुराहरु यो सात महिनामा पछाडि फर्केको बताए । ‘व्यवस्थापिका संसद चलेको छैन । विरोधका बीच तानाशाही अधिनायकवादी पेलानका साथ, भत्ता पचाउने हिसाबले मात्रै संसद अस्तित्वमा छ’, ओलीले भने, ‘सरकार गैरजिम्मेवार ढंगले चलेको छ ।’
उनले आफुहरु संसदका बैठकमा सहभागी हुने वातावरण बनाउ भनेर भनिरहे पनि नसुनेको बताए । ‘पार्टी फोड्ने कार्यमा सभामुख सहभागी हुन्छन् । मोर्चाबन्दीमा सामेल हुन्छन् । र हाम्रा बिरुद्ध मुद्दा चलाउन अदालत जान्छन् । यस्तो अवस्थामा संसद निरर्थक भइरहेको छ । संसदलाई निष्प्रभावी बनाएर राखिरहने । संसद कोमा र भेन्टिलेटरमा छ । अग्रगमनकारी संसदलाई निरर्थक बनाएर राख्नुभएको छ’, ओलीको भनाइ छ । उनले सरकारले देशलाई गम्भिर कुटनीतिक अप्ठेरोमा फसाउँदै लगेको भन्दै शक्ति राष्ट्रको खेलमैदान बन्न अवस्था आएको बताए । बेठीक काम गर्दै सरकारको समय बितेको भन्दै उनले प्रश्न गरे, ‘अहिले अर्थतन्त्रका सूचक कहाँ पुगेको छ ?’














प्रतिक्रिया