Logo

तीन महिनासम्म कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्नेछु : वामदेव गौतम

असार १४ : नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका वामदेव गौतमले अबका तीन महिनासम्म कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्ने बताएका हुन्। तीन महिना पहल गर्दा पनि कम्युनिष्टहरू एक ठाउँमा उभिने अवस्था आएन भने पार्टी अघि बढ्ने उनले बताएका छन् ।

‘आज पार्टी शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ,’ पार्टी घोषणा गर्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गौतमले भने, ‘लाखौं व्यक्तिहरू यो पार्टीमा गोलवद्ध हुनेछन्।

म जुन पार्टीमा जानेछु त्यो पार्टी त्यस्तै हुनेछ।’उनले इमान्दारी र निस्वार्थ भावनाका साथ काम गरिने बताएका छन्। उनले पार्टीमा श्रीमती र छोराले पनि काम गर्न पाउनुपर्ने बताएका छन् ।

‘हाम्रो परिवारबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी दुई जना सदस्य जनप्रतिनिधि छौं,’ उनले भने, ‘स्वार्थका लागि हामीले काम गरेको होइन। कम्युनिष्ट जोगाउन यो काम सुरू गरेँ। मलाई हजारौं कमरेडहरूले साथ दिनुभएको छ।’

आफूलाई चार/पाँच वटा पार्टीले साथ दिएको पनि उनले बताएका छन्। ‘एउटा नयाँ धार सुरू हुँदैछ। त्यो धारको हामीले सुरूवात आज गरिएको हो,’ उनले भने, ‘असार ११ मा भेला गरेर यो काम सुरू गरिएको थियो। त्यसबेला नै केन्द्रीय कमिटी बनाइएको थियो। त्यो केन्द्रीय कमिटीका निर्णय आज सार्वजनिक गरिएको हो।’ यो पार्टीको संयोजकमा वामदेव छन्।

सचिवमा डिबी कार्की छन्। सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल छन्। पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय छ। १५ जना सदस्य नबढ्ने गरी स्थायी कमिटी गठन गरिने गौतम बताउँछन्।

पार्टीमा एक अध्यक्ष, सातै प्रदेशमा इन्चार्ज, प्रदेश उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सचिव रहने पनि गौतमले बताएका छन्। पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले कम्युनिष्टहरू नमिले अबको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्। गठबन्धन गरे पनि नगरे पनि कांग्रेसले अबको चुनावमा बहुमत ल्याउने देखिएकोले कम्युनिष्टहरू एक हुनुपर्ने तर्क उनको थियो। उनले कम्युनिष्ट पार्टीबीच शत्रुताको अवस्था देखिएका बेला मित्रताको अवस्था सिर्जना गरिने पनि उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्