Logo

हरिबंश आचार्य भन्छन् : डा.सन्दुक रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्छ

नेत्र विशेषज्ञ डा.सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ। यसै क्रममा हास्यकलाकार हरिबंश आचार्यले बधाई दिँदै डा.रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हास्यकलाकार आचार्यले रुइतलाई नेपालको राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बन्ने विश्वास व्यक्त गरेका हुन्।

‘मनमा कुरा घुमी रहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र विषेशज्ञ डा. सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बड्ला । जस्ले नेपालीको मात्र नभई संसारकै ज्योति बिहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध साबित गर्नुभयो ।त्यसको मुल्याङ्कन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ ।यसै अन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको ,इसा अवार्ड, बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्सित भएको छ,’उनले फेसबुकमा लेखेका छन्।

अन्धोपन निवारणमा गरेको कल्याणकारी कामका लागि डा. रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । यसको नगद राशि १० लाख डलर (झन्डै १३ करोड ८ लाख रुपैयाँ) छ ।

बहराइनको यो अवार्ड त्यहाँका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको हो। मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ। 

डा. रुइत मोतीबिन्दुको शल्यक्रियाका लागि सूक्ष्म पद्धति उपयोग गर्छन्। उपचारको यो सजिलो पद्धति नेपालसहित विभिन्न मुलुकमा स्थापित छ। चीनका विभिन्न भूभाग, बंगलादेश, भुटान, भारत, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, उत्तर कोरियामा निकै स्थापित छ। दक्षिण अमेरिकाबाट नेत्र चिकित्सक तालिम लिन नेपाल आउने गर्छन्। 

प्रतिक्रिया दिनुहोस्