Logo

कांग्रेस सांसदको प्रश्न : गृहमन्त्रीको आदेश प्रहरीले मान्न छाडेको हो ?

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् ।

गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् ।

गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै उनले भने, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?’ प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि बताए । उनले भने, ‘मान्छे पक्डिन नसक्ने अनि सूचना जारी गर्ने ?’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अपराधीलाई चिनाइदिने हो ? गृह मन्त्रीलाई हत्कडी लिएर आउनुस् भनेको हो ?’ सांसद खतिवडाले गृहम्नत्री फेरि मिडियामा हौवा फैलाएर हिरो हुन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्